नेकपा एमालेनिकट विद्यार्थीहरुको सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले बुधबार ज्ञापनपत्र बुझाएको छ । केही दिनयता म्याग्दीमा भैरहेको अनियमित विद्युत आपूर्तिलाई सहज बनाउन भन्दै नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीमा ध्यानाकर्षण गराएको हो ।

दैनिक २० देखि २७ पटकसम्म विद्युत आउने जाने गरिरहेको र यसको प्रत्यक्ष रुपमा माध्यमिक शिक्षा परिषदले लिने कक्षा ११ का परीक्षार्थीहरुलाई असर गरेको हुँदा वैज्ञानिक तरिकाबाट समस्या समाधानको माग गरिएको अनेरास्ववियुले जनाएको छ । विद्युत सहज आपूर्ति गर्नका लागि २ दिनको अल्टिमेटम समेत दिइएको अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले बताए ।

सरकारले लोडसेडिङमुक्त देश घोषणा गरे पनि पछिल्लो समय कर्मचारी र विद्युत पावरहाउसको लापरवाहीका कारण विद्युत कटौती बढिरहेको अनेरास्ववियुले आरोप लगाएको छ । अनियमित विद्युतका कारण विद्यार्थी, शिक्षक, कर्मचारी, सर्वसाधारण, उघोगी, व्यापारीलगायत प्रभावित बनेका छन् ।  ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण कन्द्रका प्रमुख सीताराम शाहले भने आफूले विद्युत आपूर्ति सहज बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।सन्दीप शर्मा