एकबर्षभित्र पौने दुई लाख भक्तजनले गलेश्वर मन्दिरमा दर्शन गरे

0
280

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर धार्मिक पर्यटनको केन्दविन्दु बन्दै गएको छ । सतीदेवीको गलापतन भएको नामले चिनिने गलेश्वरधाम पछिल्लो समय धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास हुँदै गएको हो ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरमा रहेका १०८ ओटा धाराको पानी मिसिएर बग्ने पवित्र कालीगण्डकी नदीमाथी एउटै विशाल चक्रशिलामा अवस्थित मन्दिर धार्मिक पर्यटनका रुपमा रुपान्तरण हुँदै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषकाअनुसार कुल ९ रोपनी क्षेत्रफलको जग्गामा फैलिएको गलेश्वरमा स्वयं प्रकट ज्योर्तिलिङ्गेश्वर शिव महादेव, राजर्षि जडभरत, भरत, लक्ष्मीनारायण, जलबराहकुण्ड, राधाकृष्ण मन्दिर, विभिन्न आकार र प्रकृतिका चक्रशिलालगायत आकर्षक मूर्तिहरु रहेका छन् ।

अहिले गलेश्वर मन्दिरमा दैनिकजसो म्याग्दीसहित विभिन्न जिल्लाबाट दैनिक २ सयदेखि ३ सयको हाराहारीमा दर्शनार्थीहरु आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । चालु आर्थिक वर्षको गत साउन महिनादेखि बैशाख मसान्तसम्म गलेश्वर मन्दिरको कुल १ लाख ७९ हजार ५ सय जनाले प्रत्यक्ष दर्शन गरेको उनले जानकारी दिए ।

चालु वर्षको साउन महिनामा ५० हजार, भदौमा आठहजार, असोजमा १३ हजार, कात्तिकमा तीनहजार, मंसिरमा ४५ हजार, पुसमा दुईहजार पाँचसय, माघमा १० हजार, फागुनमा १८ हजार, चैतमा १० हजार र बैशाखमा २० हजार धार्मिक पर्यटकहरुले गलेश्वरको भ्रमण गरेका छन् । गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, चितवन, कास्की, तनहुँ, काठमाडौं, रुपन्देही, पाल्पा, नवलपरासी, सुनसरी र झापाबाट तीर्थयात्री एवं दर्शनार्थीहरु आएका थिए ।

बाहिरी जिल्लाबाट विभिन्न संघसंस्था १५, सहकारी ७ र विद्यालय ६ ओटा टोलीले पनि गलेश्वरको भ्रमण गरेको गलेश्वर क्षेत्र विकास कोषको सचिवालयले जानकारी दिएको छ । यसैबीच गलेश्वर शिवालय क्षेत्र विकास कोषले हालसम्म १२ सय तीर्थयात्रीलाई निःशुल्क बसोबास र ७ सय ४५ जनालाई भोजनको व्यवस्था गरेको बताएको छ ।

गलेश्वर मन्दिरमा खासगरी साउन महिना, तीज पर्व, बालाचतुर्दशी र महाशिवरात्री पर्वमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । गलेश्वरमा विवाह, ब्रतबन्ध, श्रद्धा, रुद्री, जपपाठ, महायज्ञलगायत सनातन हिन्दुधर्मावलम्बीले गर्ने सबैखाले धार्मिक कार्य गर्ने गरिन्छ । त्यस्तै गलेश्वर मन्दिरलाई लक्षित गरेर राष्ट्रिय तथा स्थानीय कलाकारले समेत नृत्य, गीतसङ्गीतको भिडियो छायाङ्कन गर्ने गरेका छन् ।

मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी निःशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ भने सिसी क्यामेरा पनि जडान भएको छ । त्यसैगरी सत्सङ्ग भवन निर्माण, एनआरएनको आर्थिक सहयोगमा ज्येष्ठनागरिक आश्रम निर्माण र हालसालै राधाकृष्ण मन्दिरको पनि आकर्षक शैलीमा निर्माण गरिएको छ । प्रताप बानियाँ