सुन्तलाखेतीमा रमाउँदै बास्कुना

0

बेनी नगरपालिका–४ बास्कुनाबासीले धान खेती छोडेका छन् । आधा दशक अगाडीसम्म जेठको अन्तिम साताबाट धान खेतीमा ब्यस्त हुने गरेका बास्कुनाबासीहरू अन्य खेतबालीलाई विस्थापित गरेर सुन्तला खेतीमै ध्यान केन्द्रित गरेका छन् । न्यूजरल्याण्डमा रहेका बास्कुनाका लाल बहादुर केसीले अन्र्तराष्ट्रियस्तरको बगैचा ब्यवस्थापन र काठमाण्डौका ब्यापारीलाई समेत सुन्तलाबारीमै पुग्ने वातावरण बनाएपछि सक्रिय भएका बास्कुनाबासीका अधिकांस घरधुरी अहिले सुन्तला खेतीमा आर्कषित भएका छन् ।

धान रोप्ने खेतमा नयाँ विरुवा विस्तार गरेका बास्कुनाबासीले अहिले मकैभित्र नयाँ विरुवा विस्तार संगै बगैचा ब्यवस्थापन, नयाँ विरुवाको रेखदेखमा जुटिरहेका छ बास्कुनाका अगुवा कृषक भिम गुरूङले बताउनुभयो । गतबर्ष अपेक्षा गरे अनुसारको फल नदिएपनि यसबर्ष अनुकुल मौषम र रेखदेखमा समेत कृषक ब्यस्त देखिएकाले पनि सहज भएको कृषकको भनाई छ । सुन्तला संगै पर्वतको सोडेक नामक संस्थाले दिएको पाँचवटा टनेलमा गोडभेला खेती समेत गरिएको बताउनुभयो

स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छनौट र घरदैलो कार्यक्रममा लागेका केही अगुवा कृषकले निर्वाचन सकिएपछि पुन सुन्तला बारीमा ब्यस्त देखिएका छन् । गाउँका लाल बहादुर केसी, शेर बहादुर केसी, याम केसी, दिपेन्द्र गुरूङ, देउ बहादुर हुमेन, तिलक गुरूङ लगाएतले धान खेतीलाई छोडेर सुन्तलाको खेती सुरू गरेपछि गाउँका अन्यले समेत त्यसको सिको गरेका छन् ।

करिव २२ घरधुरी रहेको बास्कुनाका १९ घरधुरीले करिव साढे दुई सय रोपनी खेतीमा अन्य बाली छोडेर सुन्तला खेती गरेका छन् । कृषि विकास कार्यालयको तालिम सहित प्राविधिक सहयोगमा गाउँमा हरेकबर्ष कृषकले खेतबारीमा नयाँ विरुवा विस्तार गरिरहेका छन् । २०६४ सालमा न्युजरल्याण्डमा कृषि खेती गरिरहेका लाल बहादुर केसीको प्रयासमा सुरू भएको सुन्तलाखेतीमा सिंगो गाउँनै आर्कषित भएपछि जिल्ला कृषि विकास कार्यालयले सुन्तलामा नमुना गाउँको रुपमा समेत प्रचारप्रसार गर्ने गरेको छ ।

गाउँलाई एफएम (फ्रुट–मिल्क)भिलेज घोषणाको तयारीमा जुटेका बास्कुनाबासीले दैनिक करिव १ सय लिटर दुध समेत सदरमुकाम बेनीबजारमा ल्याउने गरेका छन् । यसबर्ष नयाँ बोटबाट समेत पहिलोपटक फल दिने तयारीमा रहेका करिव ४० लाखभन्दा धेरैको सुन्तला विक्री हुने अनुमान गरिएको छ । कृषि विकास कार्यालयसँगै विभिन्न सेवाप्रदायक संस्थाबाट अपनाइएको आधुनिक प्रविधिको प्रयोग गरेर सुन्तलाको बगैजा ब्यवस्थापन, विरुवा रोप्ने तरिका, तालिम, स्वादिलो फलका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा समेत अन्र्तराष्ट्रिय प्रविधिको समेत प्रयोग गरिरहेका बास्कुनाबासीले सुन्तलासंगै तरकारी खेती समेत गरिरहेका छन् ।

सिँचाईको अभावले अपेक्षा गरेअनुसारको उत्पादन गर्न नपाएका कृषकले राज्यले कृषिलाई प्राथमिकतामा राखेर लगानी गरेमा हरेक गाउँमा नमुना सुन्तला बगैजा बनाउन सकिने गरी सन्देश प्रवाह गर्ने दावी समेत गरेका छन् । गाउँमा एकजना कृषकको न्युनतम ५० देखी ७०० सयसम्म विरुवा रहेका छन् । बास्कुनामा बोटबाटै ‘ए’ र ‘बि’ ग्रेडको सुन्तला जिल्ला बाहिर जाने गरेको छ भने बेनी तथा आसपासका बजारमा समेत सुन्तला खपत हुने गरेको छ । बास्कुनबाट सुन्तला संगै दैनिक दुध समेत निर्यात हुने गरेको छ ।

सुन्तला र दुधबाट कृषकले मनग्य आम्दानी गरेका छन् । बास्कुनका साथै बेनी नगरपालिका–३ भकिम्लीको मरेक र राखु गाउँ समेत सुन्तलाको पकेट क्षेत्र मानिन्छ । गतबर्ष सबैभन्दा धेरै सुन्तला भकिम्लीको राखुबाट बाहिरिएको छ । राखुबाट गतबर्ष प्रति किसान २० हजार देखी ३ लाखसम्म सुन्तला विक्री गरेर आम्दानी गरेका छन् । जिल्लाका बेनी नगरपालिकाका साथै मंगला गाउँपालिकाकाको बरंजा, अर्मन, मालिका गाउँपालिका, धौलागिरि गाउँपालिकाको ताकम, अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा सुन्तला खेती हुने गरेको छ । जिल्लामा करिव ६ सय १८ हेक्टरमा जममध्ये यसबर्ष ३९० हेक्टरमा फल दिने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।