नियमित पुस्तकालयको प्रयोग गर्ने विद्यार्थी पढाईमा अब्बल देखिएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित उपल्लाचौर आधारभुत विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा बक्ताले बताएका छन् । पुस्तकालय भित्र रहेका विभिन्न किसिमका पुस्तकहरू पाठ्क्रमसंग सम्बन्धित रहेको र विद्यार्थीको पठनस्तर र पढ्ने बानीको समेत विकास हुने भएकाले नियमित पुस्तकालयको प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।

रुम टु रिड नेपालको आर्थिक तथा गाजा डेभलपमेन्ट फाउण्डेशनको प्राविधिक तथा ब्यवस्थापनमा चारबर्ष अगाडी उपल्लाचौर आधारभुत विद्यालयमा स्थापना भएको पुस्तकालय समुदायमा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ति दुर्गाराम सुबेदीले पुस्तकालय भित्रका प्रक्रियाहरु पुरा गर्ने विद्यार्थीको शैक्षिक गुणस्तरमा उल्लेखनीय बृद्धि भएको बताउनुभयो ।

उहाँले पुस्तकको प्रयोग गर्ने विधि, पुस्तक बर्गिकरण, विद्यार्थीको स्तर अनुसारका पुस्तकको प्रयोगले पुस्तकालयको प्रयोगप्रति आर्कषण ह्वात्तै बढेको छ । सोही अवसरमा रुम टु रिड नेपालका क्षेत्रीय कार्यक्रम ब्यवस्थापक खड्ग बहादुर कुँवरले पुस्तकालयको प्रयोगले विद्यार्थी संगै शिक्षकको क्षमताबृद्धिमा समेत सघाउने बताउनुभयो । उहाँले विद्यार्थीको पाठ्यक्रमसंग सम्बन्धित रहेका पुस्तकका साथै अभिभावक र शिक्षकलाई समेत सहयोगी बन्ने करिव ४ हजार पुस्तक उपलब्ध गराइएको बताउनुभयो ।

सोही अवसरमा गाजा डेभलपमेन्ट फाउण्डेशनका विद्यालय पुस्तकालय कार्यक्रम र्संयोजक हरिकृष गौतमले पुस्तकालय हस्तान्तरण पछाडी गरिने सहयोग सहित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । हस्तान्तरण कार्यक्रमको अवसरमा नेपाल बाल संगठनका सभापति नेत्र बहादुर महत, वडा नागरिक मञ्चकी संयोजक देवी रावल लगाएतले मन्तब्य राखेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, शिक्षक सावित्री थापाको स्वागत र प्रधानध्यापक धनकुमारी थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयमा फर्निचर र पुस्तक गरी करिव ७ लाख बराबरको सहयोग गरिएको छ ।