गलेश्वरमा जनप्रतिनिधिलाई सम्मान, धार्मिक गन्तव्य बनाइने

0
297

गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजनामा बिहीबार गलेश्वरमा जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चुनावबाट म्याग्दीका ६ ओटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिका र गाउँपालिकामा प्रतिनिधित्व गर्ने प्रमुख, उप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई रामनवमी, खादा र अबिर लगाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

उनीहरुलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का र बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वामित्र कुइँकेलले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले स्थानीय तहमा भएका स्रोत र साधनहरुको अधिकतम परिचालन गरी विकास निर्माणमार्फत जनतालाई सेवासुविधा दिनुपर्ने बताएका छन् । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाको विकासका लागि अल्पकालीन र दिर्घकालीन योजनाहरु निर्माण गरी अगाडि बढ्ने तयारीमा आफुहरु लागिपरेको जानकारी दिए ।

स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जिल्लामा कृषि, जलविद्युत र पर्यटनको पर्याप्त सम्भावना रहेको हुँदा ती स्रोतसाधनको परिचालन गरी विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गरिने बताउँदै नगर र गाउँपालिकालाई नमुना बनाइने प्रतिबद्धता जनाए । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, बेनपा ३ का वडाध्यक्ष पदम पुन र ८ का रामकृष्ण बराईलीले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा गलेश्वर आमा समूहले पनि जनप्रतिनिधिलाई स्वागत गरेका थिए ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीको स्वागत र सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मालगायतको विशेष उपस्थिति रहेको थियो । प्रताप बानियाँ