म्याग्दीको सदरमुकाम बेनी र मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा ब्यवस्थित ढल निकासा हुने भएको छ । बढ्दो जनसंख्या र फोहोर ब्यवस्थापनमा देखिएको चुनौतीलाई समाधन गर्ने गरी चालु आर्थिक बर्षमै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिने भएको छ ।

खानेपानी तथा सरसफाई विभागले बेनीमा चालु आर्थिक बर्षबाटै काम ढल निकासीको काम गर्ने गरी कन्सल्टेन्सले खटाईने भएको छ भने बावियाचौरमा आगामी आर्थिक बर्षबाट निर्माणको काम हुने म्याग्दीका सांसद रेशम बहादुर बानियाँले बताए । ‘विगतमा समेत मन्त्रालयमा पटकपटक यसका बारेमा ध्यानर्कषण गराइएको थियो । कराडौंको लागतमा ढल निकासीको काम हुनेछ’ उनले भने ।

सांसद बानियाँले विगतम मन्त्रालयमा पटक पटक ढल निकासीमा बजेट माग गरिएको बताउँदै यसपटक ढल निकासीको प्रक्रियामा हालै म्याग्दीबाट सरुवा भएर गएका सिनियर डिभिजन इन्जिनियर शेखरचन्द्र केसीले अग्रसरता देखाएकाले सहज भएको बताए ।

बेनीबजारको विरेन्द्रचोक, न्यूरोड, संगमचोक, गणेशटोल, क्याम्पचोक, कालिपुल, मंगलाघाटमा ढल निकास ब्यवस्थित नहुदाँ प्रदुषण बढ्नुका साथै बर्खायाममा बजार माथिल्लो क्षेत्रबाट लेदो ढलमा प्रवेश गर्दा क्याम्पसचोक र मंगलाघाटमा ठुलो क्षती हुने गरेको छ । त्यस्तै बावियाचौरमा सबै घरमा खानेपानीको धाराको पहुँच पुगेपनि साँघुरो, पुरानो नाली भत्कीएको र पुरिएकाले बर्षामा जलमग्न हुने गरेको छ ।

बावियाचौरको ब्यवस्थित ढलको अभावका कारण म्याग्दी खोलामा फोहोर फाल्ने तथा सडक आसपासका जग्गामा भलबाढीले क्षती पुग्ने गरेको छ । ढल निकासीको सर्वेका लागि बेनीबजारलाई साढे २२ लाख र बावियाचौरलाई साढे २२ लाख रकम निकासी भएको सिनियर डिभिजन इन्जिनियर केसीले बताए । ‘डिपिआर तयार भएपछि लागतको टुंगो लाग्छ।

क्रमागत योजना भएकाले ढल निकासी ब्यवस्थित हुन्छ’ केसीले भने । उनका अनुसार म्याग्दी जिल्लाका अन्य ब्यापारिक केन्द्र तथा सहर उन्मुख बजारहरुमा समेत ढल निकासी चुनौतीपूर्ण भएको बताए । बेनीबजार, बावियाचौरका साथै सिंगा तातोपानी र भुरुङ तातोपानी समेत प्राथमिकतामा रहेको छ ।