बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत अन्नपूर्ण गाउँपालिका–६ भीरच्याङ घारमा मर्मत गरिएको थियो । अवरुद्ध भएको सडक सोमबार मर्मत सम्भार गरिएको छ । हिलाम्मे सडक र पानीको निकासी नभएपछि सडकमै ताल बनेपछि यातायातका साधन र पैदलायात्रीलाई समेत समस्या भएपछि गाउँपालिकाका प्रमुख डम बहादुर पुन, यातायात ब्यवसायी र स्थानीयले सडक मर्मत गरेका थिए ।

‘अन्नपूर्ण गाउँपालिका भित्र पर्ने सडकलाई बर्खायाममा समेत नियमित सञ्चालनको वातावरण बनाउछु ।स्थानीयबासीको समेत सहयोग रहेकाले काम गर्न सजिलो हुन्छ’ पुनले भने । उनले पोखरामा तीनदिनको गोष्ठी सकिए लगत्तै पश्चिमाञ्चल सडक विभागमा पुगेर समेत आफुँले सडकलाई नियमित रुपमा सञ्चालन गर्ने गरी वातावरण बनाउन माग गर्ने बताए । वडा अध्यक्ष कृष्ण बहादुर बरुवालले सधै सास्ती खेप्नुपर्ने अवस्थामा रहेको भीरच्याङमा सहजै आवतजावत गर्ने गरी मर्मत गरिएको बताए ।

उनले बर्खायाममा सडकमा जम्ने पानीले समेत यात्रामा सकस भएको थियो । उनले विगतमा सडक अवरुद्ध भएको दुई महिनासम्म यातायातका साधन सञ्चालन नहुने अवस्थामा यात्रुले खेप्नुपरेको समस्यालाई नजिकबाट हेरेको बताउँदै सडक खण्ड अन्र्तरगत रघुगंगा गाउँपालिकाको बेगखोलालाई नियमित सञ्चालनको वातावरण बनाउन गाउँपालिकाका प्रमुख संग समेत कुराकानी भइरहेको बताए ।

उत्तरी म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग विच्छेद हुन नदिने गरी सम्बन्धित निकायसंग सहकार्य गर्ने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सडकखण्ड अन्र्तरगत भगवती, बेगखोला, भिरकाटे, दानाको गुईठे लगाएतका क्षेत्रमा पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ ।