म्याग्दीमा विद्युत आपूर्ति अनियमित: उपभोक्ता हैरान

0
277

नेपाल विद्युत प्राधिकरण म्याग्दीले विना कुनै सूचना दैनिक ३० देखि ४० पटकसम्म विजुली काटीदिने गर्दा म्याग्दीका उपभोक्ता हैरान भएका छन् । विद्युत आपूर्ति अनियमित हुँदा व्यापार व्यावसाय चौपट भएको छ भने सर्वसाधारणको कामकाजसमेत प्रभावित भएको छ ।

बेनीको विद्युत प्राधिकरणले ‘प्राविधिक त्रुटि’ भनेर बारम्वार उपभोक्ताहरुलाई झुक्याइरहेको छ । म्याग्दी वितरण केन्द्रका प्रमुख सीताराम शाहले मोदी सवस्टेशनबाट बागलुङसम्मको ३३ केभिए प्रशारणलाइनलाई त्रुटिपूर्ण वितरणलाइनमा प्रयोग गरिएकाले म्याग्दीमा २० देखि २५ पटकसम्म विद्युत ट्रिप हुने समस्या आएको बताउनुभयो ।

विद्युत अनियमितताका कारण आफ्नो व्यापार व्यावसाय चौपट हुँदा आर्थिक वर्षको अन्त्यसंगै समस्या थपिएको बेनी नगरपालिका २ बगरफाँटको श्रीकृष्ण फर्निचर उद्योगका संचालक राजकुमार क्षेत्रीले दुखेसो व्यक्त गर्नुभयो । यस्तै समस्याबाट आजित हुनुहुन्छ बेनी बजारको आवाचोकमा अफसेट प्रेस संचालन गर्नुभएका जनता अफसेट प्रेसकारुद्रप्रसाद सुवेदी पनि । ‘विद्युत अनियमितताका कारण ग्राहाकलाई सेवा दिन सकिएको छैन,आएका कामहरु पनि थन्किएर बसेका छन्’ सुवेदीले भन्नुभयो ।

उपभोक्ताका समस्या र गुनासाहरुप्रति विद्युत प्राविधकरणले वेवास्ता गरेको स्थानीयको भनाइरहेको छ । प्राधिकरणका प्रमुख शाहले प्रशारण लाइनमा ३०÷४०किमि दूरीमा सवस्टेशन हुनुपर्नेमा यहाँ १ सय किमि भन्दा बढि दूरीमा सवस्टेशन नभएका कारण विद्युत ट्रिप हुने समस्या रहेको बताउनुभयो । शाहले भन्नुभयो ‘म्याग्दी,पर्वत,बागलुङ र मुस्ताङसम्मको केन्द्रिय प्रशारण एवं वितरण लाइनमा समस्या आउने वित्तिकै म्याग्दीमा विद्युत ट्रिप भैहाल्छ ।’

विद्युत प्राधिकरण म्याग्दीका अनुसार जिल्लामा ४ एमभीए लोड छ ,तर ३ एमभीए क्षमताको ट्रान्सफर्मर भएकाले लोड कन्ट्रोल गर्न दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ । त्यस वाहेकको समयमा देखिएको समस्या त्रुटिपूर्ण वितरणलाइनको प्रयोगका कारण प्राविधिक त्रुटि भएको विद्युत प्राधिकरणले जनाएको छ । ध्ुा्रबसागर शर्मा