गत शनिबार तातोपानी कुण्डमा निर्माणधिन अवस्थामा रहेको विरामीको विश्रामस्थलमा दिनभर कामदारलाई सघाएका योगेन्द्र केसी बेलुकी विरामी भए । पर्यटन कार्यालय पोखराबाट १० लाख रुपैयाँको सहयोगमा कुण्ड नजिक निर्माणकार्य भइरहेको विश्रामस्थलमा पत्रकार गोपाल छन्त्याल, प्रताप बानियाँसंग कुण्डको भावी योजना, आगामी अधिवेशन र आफ्नो दैनिकीका बारेमा सुनाएका केसीको ब्लड पे्रसर कम भएपछि बेनी अस्पताल हुदै पोखरामा उपचारको क्रममा सोमबार राती निधन भएको छ ।

‘कुण्डको आम्दानीले विद्यालय सञ्चालन भइरहेको छ ।यसको आम्दानी धेरै गराउन सके विद्यालयलाई ठुलो राहत हुनेथियो’ पत्रकार संग उनले भनेका थिए । तातोपानीका सबैजसो सामाजिक संघसंस्थामा संलग्न रहेका केसीको निधनले तातोपानी बजार शोकमा डुवेको छ ।

‘एउटा असल र सक्रिय समाजसेवीलाई गुमाउनुपरेको छ’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले भने । तातोपानीका धेरै संघसंस्थामा संगै सहकार्य गरेका शाक्यले तातोपानीले अल्पायूमै एक समाजसेवी गुमाएको बताए । सहयोगी र सक्रियता पूर्वक सामाजिक कार्यमा उनको लगाव थियो । तातोपानीका साथै आसपासका क्षेत्रमा समेत धेरै सामाजिक कार्यमा नेतृत्वदायी भूमिकामा देखिने गरेका थिए ।

तातोपानी कुण्डको स्थापनलाकाल देखी नै पूननिर्माण लगाएतमा सक्रिय रहेका केसी, सरस्वती मावीका सल्लाहकार, स्वास्थ्य चौकीका सल्लाहकार, केही महिना अगाडी सम्पन्न भएको विद्यालयमा आयोजित महायज्ञका कोाषध्यक्ष समेत थिए । तातोपानीका धेरै सामाजिक कार्यमा अग्रसर रहेका केसीले नियमित ब्लड प्रेसरको औषधी सेवन गर्ने गरेका थिए ।

एक्कासी ब्लड प्रेसर कम भएपछि उपचारको क्रममा चिकित्सकले दुवै मृगौलाले समेत काम नगरेको बताएका थिए । केसी नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य समेत हु्न । उनलाई पार्टीको झन्डा ओडाएर मंगलबार विहान कालिगण्डकी नदीमा अन्त्येष्टी गरिएको छ । स्वर्गीय केसीका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।