प्रचण्ड गर्मी अनि प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने । घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ र हावाहुरी चल्दा त्रिपाल च्यातिने तथा उडाउने डर छ उनीहरुलाई । बाँस र काठको भरमा त्रिपालको छेउछाउका टुप्पामा डोरी बाँधेर बनाइएको छानो कति बेला भत्कने हो थाहा छैन । पढ्ने समयमा कतिबेला छाना उडाइदिन्छ हावाले भन्ने मात्रै डर छ मनमा ।

हो, यस्तै समस्या भएको छ पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बुद्धि विकास माविमा अध्ययनरत विद्यार्थीहरुलाई । उनीहरु कक्षाकोठाको अभावमा त्रिपालमूनि बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको भवन र कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको हुँदा उनीहरु त्रिपालको साहारा लिएर अध्ययन गर्दै आइरहेका छन् ।

गएको असोज महिनादेखि विद्यालयमा भवन निर्माणकार्य शुरु गरेपछि ३, ४, ५, ७ र ८ कक्षाका विद्यार्थीहरुलाई कक्षाकोठाको अभाव भएको हो । त्रिपालमूनि बसेर पढ्ने क्रममा पानी पर्दा चुहिने, घाम लाग्दा गर्मी हुने र हावाहुरी चल्दा त्रिपाल च्यातिने हुँदा पढाइमा समस्या भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । भवनको अभावमा पालमूनि बसेर अध्ययन गर्नुपर्ने बाध्यताको समाधान गर्नुपर्ने कक्षा ८ मा अध्ययनरत विद्यार्थी दिपक विकले बताए । पालमूनि बसेर पढ्दा आफुहरु जाडो र गर्मी समयमा धेरै समस्या भोग्नुपरेको अर्का विद्यार्थी पवित्रा पुनले बताइन् ।

जिल्ला शिक्षा कार्यालय म्याग्दीको साढे १३ लाख र ब्रिटिस गोर्खा वेलफेयर स्किमको १ करोड १० लाखको लागतमा ८ कोठे भूकम्प प्रतिरोधी भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ । भवन निर्माणले एक हप्ताभित्रै पूर्णता पाउने भएको हुँदा त्यसपछि विद्यार्थीको पढाई व्यवस्थित गरिने विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले बताउनुभयो ।

हाल उक्त विद्यालयमा ३ सय ७५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्भने व्यवस्थित खेलमैदान र दरबन्दीअनुसार शिक्षक नहुँदा समेत समस्या रहेको विद्यालयको भनाई छ । म्याग्दीको दुर्गम क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दीको अभाव, भवन तथा कक्षाकोठा अपुग, पुस्तकालय इन्टरनेट र विज्ञान प्रयोगशाला नहुनु, व्यवस्थित खेलमैदान तथा विद्यालय घेराबारलगायतका समस्या रहेको छ ।