म्याग्दी उद्धार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ८ लाख ११ हजार १५५ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बिहिबार आयोजित कार्यक्रममा उद्धार समिति बहराईनका मार्नाथ सदस्य खप्रसाद शेरपुञ्जा,सहसचिव रमेश केसी, धन बहादुर कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

कोषको कार्यालयमा आयोजित कार्यक्रमको अवसरमा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा अभियान सञ्चालन गरिरहेको कोषले धेरै म्याग्देलीको घरमा खुसी फर्काउनुका साथै मृत्यूको मुखबाट समेत फर्कने वातावरण बनाएको बताउँदै म्याग्दी उद्धार समिति बहराईनका मार्नाथ सदस्य शेरपुञ्जाले आगामी दिनमा समेत सहयोगको प्रतिबद्धता जनाएका थिए। त्यस्तै सहसचिव केसी बहराईनमा रहेका म्याग्देलीको पहलमा संकलन भएको आर्थिकले म्याग्देलीको उपचारमा थप सहज हुने बताउनुभएको थियो ।

। नयाँ बर्षको अवसरमा बहराईनमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष तेजेन्द्र थापा १ लाख, दग्नाम समाज बहराइन ६० हजार, भरत राना ५६ हजार, गोरख राम्जाली ५५ हजार ५५५, कोषाध्यक्ष विकास पाईजा ७० हजार, म्याग्दी उद्धार समिति बहराईन १ लाख, हिरा पाईजा १ लाख १ हजार लगाएतले आर्थिक सहयोग गरेका थिए ।

सोही अवसरमा उद्धार समिति बहराईनका मार्नाथ सदस्य शेरपुञ्जाले १ लाख २ हजार, धन बहादुर कार्कीले २६ हजार कोषलाई सहयोग गर्नुभएको थियो । कार्यक्रममा दुईहप्ता अगाडी मंगला गाउँपालिका अर्मन छिस्वाङमा खानमा विषाधी परेर गम्भीर घाईते भएका रघुगंगा गाउँपालिका कुईनेमंगलेका प बहादुर गुरुङको परिवारलाई १५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपााध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले हालसम्म ३८ जनाको सफल उपचार गरेको छ । ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा सहयोगका साथै ५ जना विरामीको उपचार भइरहेको छ । कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।