समुदायको लगानीमा विरेन्द्रचोकमा निशुल्क शुद्ध खानेपानी

बेनी नगरपालीका ७ को बिरेन्द्रचोक टोल सुधार समितिले सार्वजनीक स्थलमा निशूल्क शुद्ध खानेपानी सुबिधाको व्यवस्था मिलाएको छ । टोल सुधार समितिको सक्रियतामा जिल्ला प्रशासन कार्यालय अगाडीको पिपल चौतारी परिसरमा निर्माण गरिएको सार्वजनीक खानेपानी धाराको शनिबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

बटुवाहरुको सुबिधाका लागि टोल सुधार समितिले स्थानीय बासिन्दा र संघ संस्थाबाट चन्दा संकलन गरेर एक लाख ९५ हजार ४३ रुपैयाको लागतमा युरो गार्ड जडान भएको टंकी र धारा मार्फत खानेपानी उपभोग गर्ने व्यवस्था मिलाएको हो । उद्घाटन कार्यक्रममा प्रजिअ पौडेलले विरेन्द्रचोकबासीको सक्रियताबाट उत्साहित भएको बताउनुभयो ।

उहाँले आफ्नो जागिरे सिलसिलामा ७० जिल्लामा पुगेको बताउँदै बजार क्षेत्रमा आफ्नो लगानीमा सामुदायिक काम गर्ने निकै कम देखेको बताउनुभयो । त्यस्तै मेयर श्रेष्ठले टोल सुधार समितिलाई सक्रिय बनाउँदै नगरपालिकाका आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिने बताउनुभयो ।

उहाँले नगरपालिका भित्रका टोलसुधार समितिले विरेन्द्रचोक टोल सुधार समितिबाट धेरै सिक्न सक्ने बताउनुभयो । सोही अवसरमा उपमेयर सञ्जु बरुवाल र वडा न. ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बिरेन्द्रचोक टोल सुधार समितिले सर्वसाधारणको खानेपानी सुबिधा र टोलको सरसफाईका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठको अध्यक्षता, सचिव लालबहादुर थापाको सञ्चालन र सदस्य कुलप्रसाद श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पुष्पा पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

स्थापनाकाल देखी टोल सुधार समितिले ट्राफिक जनचेतनामुलक वोर्ड, नाली मर्मतसम्भार, सरकारी कार्यालय आसपासका क्षेत्रको सरसफाई, फोहोर ब्यवस्थापनका लाष् िघरदैलोमै डस्विनको ब्यवस्था समेत गरेको छ । नगरपालिका भित्र स्थापना भएका टोल सुधार समितिमध्ये उत्कृष्ट समेत भएको थियो । बिरेन्द्रचोक टोल सुधार समितिले प्रत्येक मंगलबार र शनिबार सार्वजनीक स्थलको सरसफाईका साथै विभिन्न सामाजिक गतिबिधिमा सक्रिय हुदै आएका छन् ।