भकिम्ली हल्लेगौंडाकी कुमारी रोकालाई भूकम्प प्रतिरोधी घर

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली हल्लेगौंडाकी अपाङ्गता भएकी कुमारी रोका मगरलाई भूकम्प प्रतिरोधात्मक घर र अपाङ्गतामैत्री शौचालय उपहार दिइएको छ ।

शारीरिक रुपमा अपाङ्गता र आर्थिक विपन्नता भएका रोका परिवारका लागि साविकको भकिम्ली गाविस र स्थानीयवासिन्दाको पहलमा अपाङ्ग संघ म्याग्दीमार्फत आईएनअफ नेपालको सहयोगमा घर र शौचालय निर्माण गरिएको हो । आइएनअफको २ लाख ९८ हजार ६ सय ४८ रुपैयाँ आर्थिक सहयोग, वडा कार्यालय भकिम्लीबाट २२ हजार र स्थानीय जनश्रमदान ७१ हजारको लागतमा उक्त घर निर्माण गरिएको आइएनएफ बागलुङका बिमला केसीले जानकारी दिएकी छिन् ।

शारिरीक रुपमा अपाङ्गता मानसिङ रोका उनकी छोरी कमारी र नातिनी कल्पना रोका यसअघि ढोका नभएको खरको गोठमा बस्दै आएका थिए । पानी पर्दा चुहिने खरको घर त्यसमा पनि अपाङ्गता र आर्थिक विपन्न हुँदा रोका परिवारलाई समस्या भएको थियो । वडा कार्यालय, आमा समूह र स्थानीयले नागरिकता तथा अपाङ्गता परिचयपत्र एवं घर निर्माणका लागि पहल गरेका थिए ।

कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर प्रोखेल र आईएनएफका कार्यकारी निर्देशक डाक्टर बुद्धिबहादुर थापाले संयुक्त रुपमा नवनिर्मित घरको मूल ढोकाको ताला खोलेर कुमारी रोका र उनका पिता मानसिङ रोकालाई चाबी हस्तान्तरण गरेका थिए । यसैगरी आइएनएफ कास्की कलष्टरका म्यानेजर विष्णु गिरी र अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीले शौचालयको ताला खोलेर हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा सहायक प्रजिअ शोभाखर पोख्रेलले सबै ठाउँमा सरकारी कार्यालय पुग्न नसक्ने भएको हुँदा समाजमा पछाडि परेका वर्ग, क्षेत्र र समूहलाई संघसंस्थाले सहयोग गर्नुपर्ने बताएका छन् । उनले सबै मिलेर अगाडि बढेमा समाजको विकास हुने बताउँदै अपाङ्गता भएका व्यक्तिलाई सबैले आ–आफ्नो ठाउँबाट सघाउनुपर्नेमा जोड दिए ।

आईएनएफ नेपालका कार्यकारी निर्देशक डा. बुद्धिबहादुर थापाले आफ्नो संस्थामार्फत अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने गरिएको जानकारी दिएका छन् । भकिम्लीका वडा सचिव शिव शर्माले कमारी रोकामगरको नागरिकता, अपाङ्गता परिचयपत्र र घर बनाइएको बताउँदै आगामी दिनमा उनको जीवनयापनका लागि सहयोगको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रमको अवसरमा घर निर्माणमा सहयोग पु¥याउने भकिम्लीका वडा सचिव शिव शर्मा, पिपलडाँडा स्वाबलम्बन समूह र आमा समूहका प्रतिनिधि तथा अपाङ्ग संघ म्याग्दीका सामाजिक कार्यकर्ता दुर्गा थापालाई दोसल्ला ओढाई प्रशंसापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा आईएनएफ कास्की कलष्टरका म्यानेजर विष्णु गिरी, वडा सदस्य मनकुमारी पुन र पिपलडाँडा आमा समूह अध्यक्ष देउकली घर्तीले मन्तव्य राखेका थिए । कार्यक्रम अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पिपलडाँडा स्वाबलम्बन समूहका अध्यक्ष खिमकुमारी रोकाले स्वागत गरेकी थिइन् ।