म्याग्दीका यूवा बैज्ञानिक भविन्द्र कुँवरले भौतिक विज्ञानमा अर्को तथ्यको खुलासा गरे

भौतिक शास्त्रमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने तथ्य खुलासा भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटका युवा वैज्ञानिक एवम् खोजकर्ता भविन्द्र कुँवरले अनुसन्धान गरी उक्त तथ्य पत्ता लगाउनु भएको हो । यसबाट प्रवेग र सुवात इतिहासमा सीमित हुने भएका छन् ।

कुवँरले भौतिक विज्ञानमा ४ शताब्दीदेखि भूमिका निर्वाह गर्दै आएको ‘प्रवेग’ नामक भौतिक शास्त्रीय परिमाण विज्ञानसम्मत आधारमा निर्माण नभएको नयाँ तथ्य पत्ता लगाउनुभएको हो ।

काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्मा तयार पारिएको अनुसन्धान रिपोर्टबाट ‘प्रवेग’ नामक उक्त भौतिक शास्त्रीय परिमाणको विज्ञानसम्मत अर्थ पुष्टि गर्न असम्भव हुने तथ्य प्रमाणित भएको हो । केही वर्षदेखि विभिन्न यन्त्रहरुको प्रयोगबाट गरिँदै आइएका जाँचहरुबाट प्राप्त तथ्यका आधारमा प्रवेगको वैज्ञानिक औचित्य नभएको खुल्न गएको खोजकर्ता युवा वैज्ञानिक कुवँरले बताउनुभयो ।

प्रयोगात्मक परीक्षण र गणितीय स्वयंसिद्ध प्रमाणहरुले सो कुरा पुष्टि गरेको देखिएपछि रिसर्च सेन्टरले उक्त जानकारी सार्वजनिक गरेको हो । आविष्कार भएदेखि जाँच र पुनर्जाँच नगरिकन प्रचलनमा ल्याइएको उक्त भौतिक शास्त्रीय परिमाणको अनुप्रयोगबारे तथ्यपूर्ण आधारको खोजी गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको कुरा खोजकर्ता कुँवरले जानकारी गराउनुभयो ।

केही समयअघि दुर्यान्तर र प्रदुर्यान्तर पत्ता लगाउने कार्य कुँवरबाट भएको थियो । कुँवरले भौतिक शास्त्रमा प्रवेगको स्थापना तथ्यपूर्ण र विज्ञानसम्मत छैन भन्ने दाबीलाई समेटेर वि.सं. २०६७ मा एउटा पुस्तकसमेत प्रकाशन गर्नुभएको थियो । कूल ७१८ पृष्ठ रहेको ‘भौतिक शास्त्रमा भएका केही त्रुटिहरुका खन्डन र समाधान’ शीर्षकको उक्त पुस्तकमा विभिन्न तर्कहरु प्रस्तुत गर्दै प्रवेगको स्थापना विज्ञानसम्मत नभएको भनी उल्लेख गरिए पनि उक्त दाबी पूर्णतः प्रमाणित हुन सकेको थिएन ।

‘तत्कालका लागि आश्चर्यजस्तो लागे पनि भौतिक शास्त्रमा भएको विकराल समस्याका लागि यो समाधान हो ।’, कुँवरले भन्नुभयो, ‘वास्तविक र विज्ञानसम्मत परिमाणहरुले काम गर्न थालेपछि एउटा काल्पनिक परिमाण प्रयोगविहीन बनेको थाह लागेको हो ।’

खोजकर्ता कुँवरका अन्य केही अनुसन्धानपत्र, प्रवचन र पुस्तकहरुमा समेत प्रवेगमा भएको समस्याबारे स्पष्ट रुपमा चर्चा र बहस गरिएको देखिन्छ । कुँवरको उक्त दाबी सप्रमाण प्रमाणित गर्न भने झन्डै ६ वर्ष लागेको हो ।

चालका समीकरणहरुका लागि प्रवेगको औचित्यसँग सम्बन्धित ‘सुवातदेखि सुव्रतसम्म’, ‘सुव्रतका केही प्रभावहरु’ र ‘चालका रेखीय समीकरणहरुमा दुर्यान्तर र प्रदुर्यान्तरको भूमिका’ शीर्षकका अनुसन्धानपत्रहरु तयार पारिएको थियो ।

परीक्षण विवरणअनुसार प्रवेगका कारण १२ चरणमा १२ पटक नै गलत र फरकफरक नतिजा आएको देखिएको छ । यसबाट सरदर गतिमा पनि प्रवेगका कारण फरकफरक नतिजा फेला पर्न गएको देखिएको छ । समाधानका रुपमा आएका सुव्रत समीकरणहरुलाई दुर्यान्तर र प्रदुर्यान्तरका आधारमा जाँच गर्दा भने सबै अवस्थामा सही नतिजा दिएका थिए ।

प्रवेगका आधारमा प्राप्त हुने मान वास्तविक मानभन्दा फरक हुनुका साथै तिनीहरुमा असमानता पनि देखिन्छ ।क्र.सं. प्रवेगका आधारमा प्राप्त हुन जाने विस्थापन मिटरमा दुर्यान्तर र प्रदुर्यान्तरका आधारमा प्राप्त विस्थापन मिटरमा वास्तविक विस्थापन मिटरमा देखिन गएको अन्तर मिटरमा

खोजकर्ता कुँवरले प्रवेगका कारणले गर्दा एउटै मान आउनुपर्ने उही घटनाका लागि पनि फरकफरक मान आएको तथ्य स्पष्ट हुने गरी अनुसन्धानपत्र प्रकाशित गर्नुभएको छ । ‘चालका रेखीय समीकरणहरुमा दुर्यान्तर र प्रदुर्यान्तरको भूमिका’ शीर्षकको उक्त अनुसन्धानपत्रमा १ मिनेटमा हुने एउटा घटनामा हुने विस्थापनलाई विभिन्न कोणबाट जाँच गरिएको छ । जाँचहरुमा प्रवेगलाई आधार मानेर गरिएका कुनै पनि परीक्षणले वास्तविक मान पहिल्याउन सकेको देखिँदैन । तालिका १ मा उक्त पत्रको जाँचविवरण दिइएको छ । यसबाट प्रवेग विज्ञानसम्मत र तथ्यपूर्ण परिमाण नभएको देखिएको हो ।

दुर्यान्तर र प्रदुर्यान्तरले सहजतापूर्वक सही नतिजा दिने धारणा कुँवरको छ । ‘भौतिक शास्त्रमा वस्तुको चाल, बल, शक्ति आदि क्षेत्रमा प्रवेगको नभई दुर्यान्तर र प्रदुर्यान्तरको भूमिका भइरहेको तर यसबारे थाह नलागेको अवस्था थियो ।’, अनुसन्धानकर्ता कुँवरले भन्नुभयो, ‘अब भने भौतिक शास्त्र स्पष्ट हुनेछ, आफैमा विरोधाभास र द्वैध नतिजाहरु हात लाग्ने समस्या समाप्त भएको छ ।’

खोजकर्ता कुँवरले दुर्यान्तर र प्रदुर्यान्तरको आविष्कारपछि तीसँग सम्बन्धित (पहिले ५ र पछि १० गरी) जम्मा १५ वटा नयाँ सुव्रत समीकरणहरु आविष्कार गर्नुभएको छ । यसबाहेक कुँवरले गणित र द्रवस्थिति विज्ञानका क्षेत्रमा पनि केही महत्त्वपूर्ण खोजहरु सम्पन्न गर्नुभएको छ । यीमध्ये दुर्यान्तर नामक परिमाण र त्यसको अनुप्रयोगबारे भने १८ वर्षको अनुसन्धानपछिमात्र यकिन गर्न सकिएको थियो ।

प्रवेगनिरपेक्ष सुव्रत समीकरणहरु सजिलैसँग पठनपाठनका क्रममा बुझ्न वा बुझाउन सकिन्छ कि सकिँदैन ? भन्नेमा स्पष्ट हुनका लागि पछिल्लो समयमा चितवन जिल्लामा परीक्षण र संक्षिप्त प्रश्नोत्तर कार्यक्रमसमेत गरिएको छ । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्, चितवन शाखाको आयोजनामा जेठ ३० गतेका दिन चितवनस्थित खैरहनी उच्च माध्यमिक विद्यालयका विज्ञान शिक्षकहरुमाझ उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी शिक्षकहरुले नापजाँचबाट समेत स्पष्ट भएपछि आफूहरुलाई बुझ्न कुनै कठिनाइ नभएको तर अरुलाई बुझाउन भने त्यति सहज नहुने प्रतिक्रिया दिनुभएको हो ।

‘सुव्रत समीकरणहरु बुझ्न र प्रयोग गर्न हामीलाई त कुनै कठिन हुने देखिएन ।’, अन्य सहभागीहरुले जस्तै गरी विद्यालयका विज्ञान शिक्षक शिवराज अधिकारीले प्रतिक्रिया दिनुभयो, ‘तर हामीले विद्यार्थीहरुलाई बुझाउन भने सहज नहुन सक्छ । यसका लागि थप अध्ययन र पर्याप्त तयारीको आवश्यकता हुन्छ ।’

प्रवेगको निर्माणमा मूलतः ग्यालिलिओको नाम आउने भए पनि यसको वास्तविक आधार कोबाट तयार भयो भन्ने कुरा खोजकै विषयमा छ । तर चर्चित भौतिक शास्त्रीय परिमाण प्रवेगलाई बिनापरीक्षण प्रचलनमा ल्याइएको देखिन्छ । प्रवेगको स्थापनाको प्रक्रिया सही थियो वा गलत थियो भन्ने विषयमा आजसम्म कहीँ पनि परीक्षण गरिएको देखिँदैन । तर पनि भौतिक शास्त्रमा यसबारे अध्ययनअध्यापन भने गराउँदै आएको देखिन्छ ।

कुँवरको सम्बन्धित अनुसन्धानपत्र नेपाली भाषामा मात्र भएकाले अन्य भाषाका भौतिक शास्त्रीहरुलाई जानकारी गराउने उद्देश्यका साथ अनुवाद गर्ने कार्यलाई अघि बढाइएको छ । यसका लागि ‘चालका रेखीय समीकरणहरुमा दुर्यान्तर र प्रदुर्यान्तरको भूमिका’ शीर्षकको अनुसन्धानपत्रलाई हाल अष्ट्रेलियामा रहनुभएका साहित्यकार विक्रम विवशले अनुवाद गर्दै हुनुहुन्छ ।

‘भौतिक विज्ञानमा आस्था र परम्पराको ऐतिहासिक रुपमा उच्च कदर हुने तर तथ्यपूर्ण परिणामको विकल्प हुँदैन ।’, कुँवरको भनाइ छ, ‘आज पनि अरस्तुले दिएको योगदान र इतिहासको सम्मानमा कसैले प्रश्न उठाउन सक्दैन तर भौतिक विज्ञानमा उहाँले दिएका भन्दा फरक तथ्यहरु प्रचलनमा छन् ।’

अनुसन्धानको निष्कर्ष पहिल्याएर आफ्नो अनुसन्धानपत्र प्रकाशन गरेपछि कुँवरले यसबारे ट्वीटरमार्फत् जानकारी गराउँदै लेख्नुभएको थियो, ‘प्रवेगले भौतिक शास्त्रमा दिएको योगदान अविस्मरणीय छ । भौतिक शास्त्रीहरुले उक्त परिमाणको ऐतिहासिक योगदानलाई समयमै व्यवस्थापन गर्नु आवश्यक छ ।’ ध्ुा्रबसागर शर्मा/ रासस