बेनीमा फेरी नेपाली नक्कली नोट भेटियो

म्याग्दीको सदरमुकाम बेनीमा फेरी नेपाली पाँच सयको नक्कली नोट भेटिएको छ । सेवाग्राही मार्फत दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थामा संकास्पद नोट भेटिएपछि चेकजाँचको क्रममा नक्कली पुष्टी भएको सहकारीकी लेखापाल गिता आचार्यले बताईन् ।

‘नक्कली नोट भेटिएपछि सेवाग्राहीलाई समेत सचेत बनाएका छौ। हामीले सेवाग्राहीलाई नोटको पहिचान गर्ने विधि समेत सिकाइरहेका छौ’ सुबेदीले बेनीअनलाइनलाई भनिन् । यसअगाडी बेनी अस्पतालको काउण्टर, वित्तिय संस्थामा समेत फेला परेको थियो । पछिल्लो समय म्याग्दीमा नक्कली नोट देखिन थालेको छ । बजार क्षेत्रमा र वित्तिय संस्थामा समेत नक्कली नोट पुग्न थालेपछि सचेत हुन प्रहरीले अनुरोध गरेको छ । नक्कली नोट हेर्दा उस्तै लाग्ने नम्बर एउटै भएका, लालीगुराँसको छाप नभएका, प्रिन्ट फरक भएका,कागज चिप्लो,लुलो हुन्छ ।

नक्कली नोटको पहिचान गर्ने बारेमा बैङ्क तथा वित्तिय संस्थाले आवश्यकता अनुसार कर्मचारीलाई तालिम उपलब्ध नगराउने गरेकाले  तत्कालै पहिचानमा समस्या हुने गरेको कर्मचारीको भनाई छ । विगतमा जिल्लाका ग्रामिण क्षेत्रमा एक हजार नेपाली नोट भेटिने गरेको थियो ।भारतीय ५ सय र एक हजारको नोट परिर्वतन भएपछि नेपाली नक्कली नोटको कारोबारीमा गिरोह सक्रिय भएका छन् ।  सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रमा समेत ब्यापारी र अन्य माध्यमबाट नक्कली नोट पुग्ने गरेको छ ।