म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यामिक विद्यालयमा सोमबारदेखि राष्ट्रिय सेवा दल तालिम शुरु भएको छ । आगामी १ सय दिनसम्म चल्ने तालिममा विद्यालयको ७, ८ र ९ मा अध्ययनरत ३६ जना विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

श्रीबक्स गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीमार्फत जिल्ला शिक्षा कार्यालयको समन्वयमा प्रकाश माविमा ४४औं जुनियर व्याज एनसिसी तालिम सञ्चालन गरिएको हो । तालिमको बारेमा जानकारी गराउँदै श्रीबक्स गुल्मका गुल्मपति रमेश गुरुङले राष्ट्रिय सेवा दलको आयोजनामा सिनियर र जुनियर डिभिजनको तालिमहरु सञ्चालन गर्ने गरिएको बताएका थिए ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रकाश मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति मोहन बानियाँ, विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव गोरखनाथ सुवेदीलगायतको उपस्थिति रहेको थियो । यसअघि एनसिसी तालिम बेनी सामुदायिक माविमा सञ्चालन गरिएको थियो ।

देशभरीबाट ७ हजार ५ सय जनालाई एनसिसी तालिम दिइने जनाइएको छ । तालिम बिहान र बेलुकाको समयमा १÷१ घण्टाका दरले चलाइने आयोजकले जनाएका छन् । तालिमको राष्ट्रिय सेवा दलका लक्ष्यबहादुर थापा, तिलाराम थापा र हेमबहादुर खड्काले सहजीकरण गर्ने बताइएको छ । तालिममा पिटी, तेक्वान्डो, भलिबल तथा फुटबललगायतका विषयमा प्रशिक्षण दिइनेछ । प्रताप बानियाँ