जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी गौतम डाक्टर बन्ने संकल्प

म्याग्दी र आसपासका क्षेत्रमा स–साना रोगले सर्वसाधारणको मृत्युको खबरले सुर्तीप्रतिभा गौतम सानैदेखि गम्भिर हुन्थिन् । किन उनीहरुलाई बचाउन सकिदैन ? उनको मनमा सधै प्रश्न उब्जीरहन्थ्यो । माध्यामिक शिक्षा उत्र्तीण परीक्षा (एसइइ)मा म्याग्दी जिल्लामै उत्कृष्ट नतिजा ल्याएपछि गौतम डाक्टर बनेर यस्ता समस्यालाई कम गर्ने योजनामा अघि बढ्ने संकल्प गरेका छन्।

‘हामी पढ्दै गर्दा हाम्रो जिल्लाको गाउँघरमा सानो–सानो रोगले पनि महिला दिदिबहिनीहरुको ज्यान गयो भन्ने जस्ता खबर मैले त्यो क्षेत्रमा के गर्न सक्छु भनेर सोचिरहन्थें, त्यो माध्यम भनेको स्वास्थ्यक्षेत्रबाटै रहेछ’, उनले भनिन्, ‘९ कक्षादेखि नै मैले यहि क्षेत्रमा लाग्ने योजना बनाएकी थिएँ, अहिले रिजल्ट पनि राम्रो आयो ।’ आफ्नो संकल्पमा परिवार र विद्यालयको उत्तिकै समर्थन रहेको उनले सुनाइन् । ‘घर परिवारबाट तिमीलाई जस्तो गर्दा राम्रो लाग्छ, त्यस्तै गर्नु भनेको छ ।

मैले एसइइपछि बिज्र कोर्स पनि पूरा गरेँ’, उनले भनिन्, ‘साइन्स पढेर त्यो सपना पूरा गर्नेछु ।’ बेनी बोर्डिङ्गबाट परीक्षामा सम्मिलित गौतमले सबैभन्दा बढी जिपिए अँक ल्याएकी छन् । पारिवारिक वातावरण देखि विद्यालयमा प्रतिस्पर्धी धेरै भएका कारण उत्कृष्ट अँक ल्याउन सफल भएको गौतमको बुझाई छ ।

‘मेरो दाजु प्रतिक गौतम २०६८ सालको एसएलसीमा जिल्ला दोश्रो हुनुभएको थियो ।उहाँको सफलतापछि मलाई धेरैले दाईजस्तो हुनुपर्छ भनेर हौसला दिनुहुन्थ्यो’, उनले भनिन्, ‘कक्षामा पनि ४÷५ साथीहरुसँग धेरै प्रतिस्पर्धा हुन्थ्यो, कहिले उनीहरुले त कहिले मैले धेरै नम्बर ल्याउथें, त्यहि भएर घरमा पनि धेरै नै पढिन्थो ।’ सुर्तिप्रतिभालाई सबैभन्दा मनपर्ने विषय नै ऐच्छिक गणित हो ।

विद्यालयको अधिकाँश अतिरिक्त क्रियाकलापमा उनले भाग लिने गर्थिन् । विद्यालय र जिल्लास्तरीय थुप्रै क्वीज कम्पिटिशनमा सहभागि भएर पुरस्कार जितेकी छन् उनले । उनका दाजु प्रतिक अहिले डेण्टलविधा अध्ययन गरिरहेका छन् भने उनी डाक्टर बन्ने योजना बनाएका छन् । ‘यो सफलता हात पार्न मदत गर्ने सर, विद्यालय परिवार र घरपरिवारलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु’, उनले भनिन् । साभारः रिखार दैनिक