सोलारको भरमा जीवन कटाउँदै मुदीवासी

0

उज्यालोका लागि सिङ्गो गाउँ नै सोलारको भर पर्दै आइरहेको छ । घरलाई उज्यालो बनाउन, बिहान बेलुका बत्ती बाल्न र दैनिक कार्यसम्पादन गर्नका लागि गाउँलेले सोलार बत्तीको प्रयोग गर्ने गरेका छन् । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीका गाउँवासी विद्युतको विकल्पमा सोलारको प्रयोग गर्दै आइरहेका हुन् ।

साविकको मुदी गाविसको १ देखि ४ नम्बर वडासम्मका सबै घरधुरीले सोलार बाल्दै आइरहेका छन्भने ५ नम्बर वडा नेरबाङमा भने सोलार र बिजुली दुबै छैन । यसैगरी ६ र ७ नम्बर वडा खिबाङवासीले लघुजलविद्युत आयोजनामार्फत बिजुली बाल्दै आइरहेका छन् । उनीहरुले कादुरी संस्थाको १ करोडको लगानीमा पैरेनी खोलाबाट विद्युत उत्पादन गरी १ सय २० घरधुरीले बिजुली बालेका छन् ।

त्यस्तै ८ नम्बर चेचुङ र ९ नम्बर बगराका वासिन्दाले पनि सोलार बत्ती बाल्दै आइरहेका छन् । सोलार बाल्नेहरुले व्यक्तिगत लगानीमा बत्ती जडान गरेका हुन् । मुदीको बुद्धि विकास माध्यामिक विद्यालय र खिबाङको चन्द्रज्योती माविमा नवीकरणीय ऊर्जाको सहायतामा सोलार बत्ती बालिएको छ ।

मुदी गाउँमा २०५७÷५८ सालबाट सोलार बत्ती बाल्न सुरु गरेको स्थानीयले बताएका छन् । आफूले ४० हजारको लगानीमा ६५ वाट क्षमताको ८ ओटा सोलार बत्ती जडान गरी बालेको मुदीका अर्जुन घर्तीले बताए । उनका अनुसार गर्मी मौसममा बत्ती चहकिलो बले पनि जाडो मौसममा भने राम्रोसँग घाम नलागेसम्म बत्ती नबोल्ने गरेको बताएका छन् ।
समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा रहेको मुदी गाउँका स्थानीयले आफ्नो घरको छानामा सोलार प्यानल राखेर कोठाकोठामा बत्ती जडान गरिएको छ । सोलारबाट बत्ती बाल्ने, रेडियो एफएमहरु सुन्ने, टेलिभिजन हेर्ने, मोबाइल तथा लाइटहरु चार्ज गर्ने, खाना पकाउनेलगायतका कामहरु हुने गर्दछ ।

दुर्गमको गाउँ र सदरमुकामको पहुँचदेखि टाढा रहेको हुँदा गाउँमा विकास निर्माण पछि परेको स्थानीयको भनाई छ । गाउँमा सडक पु¥याउने र बिजुली बाल्ने प्रयास गाउँलेले गरिरहेका छन् । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले आफ्नो कार्यकालमा दुर्गम गाउँमा सडक पु¥याउने र केन्द्रीय प्रसारण लाइनको विद्युत बाल्नका लागि सम्बन्धित निकायमा पहल गरिएको जानकारी दिएकी छिन् । उनले पर्यटन तथा विद्युतको रोयल्टी सम्बन्धित गाउँपालिकामा आएमा दुर्गम क्षेत्रको विकासमा लगानी गरिने बताइन् ।