पछिल्लो समय सम्मान तथा सत्कारको प्रचलन भड्किलो बनीरहेको छ । रंगीबिरंगी आयातित खादा ओढाउने प्रचलनले सम्मानको चलन भड्किलो संगै महंगो समेत हुँदै गएको छ । सम्मान र सत्कारमा बढ्दो भड्किलोपनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा भने जनप्रतिनिधिले अंकुश लगाएका छन् ।

वडा नम्बर दुईका नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवालको अध्यक्षतामा बसेको बैठकले स्थानीय स्तरमा हुने सबै कार्यक्रममा अतिथी र पाहुनाहरुलाई सम्मान तथा सत्कार गर्दा स्थानीय स्तरमै उत्पादन हुने फुल, माला तथा सामानको प्रयोग गर्ने र आयातित खादा प्रयोग नगर्ने निर्णय गरेको हो । परम्परागत संस्कृतिहरुमा स्वागत र सम्मानमा फुल, माला नै जोडिएर आएको भएपनि पछिल्लो समय भित्रिएको खादा संस्कृति भड्किलो भएको र खादाको पुनःप्रयोगको समेत कुनै काम नहुने भएकाले खादा प्रयोग नगर्ने निर्णय गरेको वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

उहाँले सम्मान र सत्कारमा अहिले प्रयोग हुँदै आएको खादाले वातावरण प्रदुषण समेत गराउने भएकाले सम्मान संस्कृतिलाई स्थानीय संस्कारसंग जोड्नु बढी उत्तम हुने बताउनुभयो ।विदेशबाट आयातित खादामा विभिन्न सार्वजनिक संघ, संस्था तथा कार्यालयहरुले फजुल खर्च बढाउने गरेको देखिएपछि यस्तो निर्णय गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

सत्कार तथा सम्मानमा सबैले स्थानीय स्तरका सामान प्रयोग गर्ने प्रचलनको सुरुवात गरेमा स्थानीय स्तरमा कतिपय महिलाहरुलाई फुलमाला तथा ढाकाका खादा बुन्ने काममा रोजगारिको समेत अबसर सृजना गर्न सकिने उहाँको भनाई छ । त्यस्तै सोही बैठकले सो वडामा मुक्तिनाथ सदावर्त गुठीको नाममा रहेको सर्वसाधारणको जग्गालाई रैतनी परिणतको लागि जिल्ला मालपोत कार्यालय मार्फत भुमिसुधार मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

बैठकले वडाहरुको जग्गाको न्युनतम मुल्य निर्धारणसंगै चालु आर्थिक बर्षमा वडामा सञ्चालित विकास निर्माण योजनाहरुको प्रभावकारी कार्यान्वयनको लागि अनुगमनलाई तिब्र बनाउने निर्णय समेत गरेको छ । वडा सचिब बलराम पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाका जनप्रतिनिधि लगायत सरोकारवाला र अगुवाहरुको समेत सहभागिता रहेको थियो ।