(प्रताप बानियाँ)
म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यामिक विद्यालयले शुक्रबार शैक्षिक सामाग्री सहयोग गरेको छ । वेष्ट प्वाइन्टले आफ्नो २५औं रजतजयन्ति वर्ष–२०७४ को अवसर पारेर बेनीको कालीपुलमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर, प्रिन्टर मेसिन र शैक्षिक सामाग्री सहयोग गरेको हो ।
वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रालिका अध्यक्ष शिवकुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, विशिष्ट अतिथि उपप्रमुख सन्जु बरुवाल, प्रकाश मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति मोहन बानियाँ र विद्यालयका सञ्चालकले बालमन्दिरका अध्यक्ष नेत्रबहादुर महतलगायत शिक्षकलाई उक्त सामाग्री सहयोग हस्तान्तरण गरेका थिए । सामाग्री १ लाख मुल्य बराबरको रहेको बताइएको छ ।

कार्यक्रमको अवसरमा १० हप्ते शिक्षक तालिमको समेत उद्घाटन गरिएको छ । तालिमको अवधिमा वेष्ट प्वाइन्टको प्रि पाईमरी, प्राईमरी र मन्टेश्वरीका शिक्षकहरुले बालमन्दिर आधारभूत विद्यालयका शिक्षकलाई तालिम दिने भएका छन् । सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने उद्देश्यसहित दुई विद्यालयले एकापसमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नेगरी सहमति जनाएका छन् ।

उक्त रजतजयन्तिको अवसर पारेर नगरपालिका र वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समेत स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा वेष्ट प्वाइन्टका अध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई अबिर र खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बालमन्दिर आधारभूत विद्यालयलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताउँदै आफ्नो कार्यकालमा नगर क्षेत्रभित्रका विद्यालयको स्तरोन्नति र विकास गरिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख सन्जु बरुवाल, बेनपा ८ का वडाध्यक्ष रामकृष्ण बराईली, स्रोतव्यक्ति मोहन बानियाँ र बालमन्दिरका अध्यक्ष नेत्रबहादुर महतले मन्तव्य राखेका थिए । वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रालिका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षता र मिडिया हव संयोजक कृष्ण जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल डाक्टर लाल रापचाले स्वागत गरेका थिए । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।