म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा कालिगण्डकी नदीबाट पम्पिङ गरी पानी ल्याइने भएको छ । बर्षेनी स्वदेश तथा विदेशबाट गलेश्वरमा धार्मिक भक्तजनको संख्या बढ्न थालेपछि कालिगण्डीको जल मन्दिरमा परिसरमा सहजै उपलब्ध गराउने तथा भक्तजनलाई १०८ धारामा स्नान गर्ने पम्पिङबाट पानी ल्याउन सर्वेका लागि बजेट विनियोजन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए ।

‘कालिगण्डकीमा पुग्न नसक्नेहरुलाई मन्दिरमा स्नानको ब्यवस्था मिलाइनेछ । कालिगण्डकीको पवित्र जलको महत्व यूवापुस्तालाई जानकारी दिन सहज हुन्छ’ केसीले बेनीअनलाइनलाई भने ।उनले गलेश्वर मन्दिर भित्र रहेको बगैचा आसपासको क्षेत्रमा १०८ धाराका लागि टङकी निर्माण गरिने छ ।कालिगण्डकीको जललाई भक्तजनले देशका विभिन्न स्थानका साथै भारतसम्म पुर्याउने भएकाले पनि पम्पिङ योजनाले सहज हुने बताए ।

खानेपानी तथा सरसफाई मन्त्रालयको उच्च प्रविधियुक्त केन्द्रिय कार्यक्रम अन्र्तरगत बन्ने आयोजनाको सर्वेका लागि टोली खटिने खानेपानी विभागका सिनियर डिभिजनल इन्जिनियर शेखरचन्द्र केसीले बताए । ‘सर्बे सम्पन्न भएपछि कुल लागतको तयारी हुन्छ । विगतमा गलेश्वरमा निर्धारित समयभन्दा अगाडी नै आयोजना सम्पन्न भएका थिए’ उनले ।

गलेश्वरबासीको सक्रियता र श्रमदानले समेत आयोजना निर्माणमा सहज हुने बताए । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वरमा पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौं लगाएत देशभरका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् ।