तलबी अनुदान (पिसीएप) कटौती भएपछि म्याग्दीका सामुदायीक विद्यालय समस्यामा परेका छन् ।प्रति विद्यार्थी लागतको अनुपातमा विद्यालयहरुलाई उपलब्ध गराइदै आएको अनुदान कटौती भएपछि दरबन्दि नभएका सामुदायीक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो ।

चालु आर्थिक वर्षमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरी गाउँपालीका ३ मा रहेको धनजनता माविका प्रअ पुस्कर भण्डारीले बताउनुभयो । “शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ अनुदानले निजी स्रोतका र तल्लो तहमा दरबन्दि भएर माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकलाई तलब खुवाउन सहयोग मिलेको थियो” प्रअ भण्डारीले भन्नुभयो “चालु आर्थिक वर्षमा अनुदान नआउँदा निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेर विद्यालयलनै बन्द गर्नुपर्ने अवस्था आएको छ ।”

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक दलबहादुर थापाले चालु आर्थिक वर्षदेखि बिभागले देशभरका विद्यालयलाई दिदै आएको तलबी अनुदान कटौती गरेको जानकारी दिनुभयो । “विगतमा आर्थिक वर्षको अन्तमा अनुदान आउने गरेको थियो” थापाले भन्नुभयो “यसपाली अनुदाननै कटौती भएको जानकारी आएको छ । दरबन्दि नभएका आधारभुत र माध्यमीक विद्यालयलाई समस्या भएको छ ।”

गत आर्थिक वर्ष २०७२७३ मा म्याग्दीका सामुदायीक विद्यालयमा ६२ लाख रुपैया तलबी अनुदान वितरण गरिएको थियो । म्याग्दीमा २३२ वटा सामुदायीक विद्यालय रहेका छन् । १९ वटाको मावि, १९ वटाको आधारभुत तहमा दरबन्दिका शिक्षक छैनन् । नौ वटा १–५ तहको पठनपाठन हुने विद्यालयले अहिलेसम्म दरबन्दि नपाउँदा निजी स्रोत जुटाएर शिक्षक पाल्दै आएका छन् । सन्तोष गौतम÷रासस