दिच्याममा सडक पुगेपछि गाउँमा खुशियाली (फोटोफिचर)

0
308

आफ्नै गाउँबाट मोटर चढ्ने रहरका साथ सडक खन्न शुरु गरेको एक दशकपछि सडकले पूर्णता पाउँदा गाउँलेमा खुशियाली छाएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा १० वर्षको अन्तरालपछि सडक पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।

२०६४ सालमा दरबाङदेखि निर्माण शुरु गरिएको दरबाङ–दिच्याम सडक निर्माणले २०७४ सालमा आएर पूर्णता पाएपछि गाउँलेले खुशियाली मनाएका हुन् । सडक खन्दै गाउँको विद्यालय नजिकै पुगेको डोजर र चालकलाई दिच्यामवासीले अबिरजात्रा गरेका थिए ।

यसैगरी उनीहरुले योजनाको अनुगमन गर्दै दिच्याम पुगेका सांसद नवराज शर्मालगायत सडक निर्माण समितिका पदाधिकारी, सवारी तथा चालकलाई पनि फुलमाला, अबिर र खादा लगाएर स्वागत गरेका थिए । लामो समयको प्रयासपछि गाउँमा सडक पुगेको भन्दै स्थानीयले नाचगान र भोजको समेत आयोजना गरेका थिए ।

चालु वर्षमा व्यवस्थापिका संसदका सदस्य नवराज शर्मामार्फत निर्वाचन क्षेत्र विकास कोषको १५ लाख, जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीको ५२ थान ग्याबिन जाली सहयोग र स्थानीय जनप्रतिनिधिको आर्थिक सहयोगमा सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

सडक निर्माणका लागि मालिका ६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले १ लाख २० हजार र गाउँपालिका अध्यक्षका उम्मेदवार बेगप्रसाद गर्बुजाले ६० हजार सहयोग गरेको सडक निर्माण समितिका अध्यक्ष खिम रोकाले बताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, वडा सदस्य गौमती चापागाईं, कर्ण रोका र पदबहादुर रोकाले ६०÷६० हजारका दरले सहयोग गरेको उनले जानकारी दिए ।

यसअघि पनि गाउँमा सडक पु¥याउनका लागि पटकपटक बजेट विनियोजन गरिए पनि त्यसले पूर्णता पाउन सकेको थिएन । अब गाउँमै सडक पुगेपछि सदरमुकामसम्म सवारीसाधनमार्फत आवतजावत गर्न, मालसामान ढुवानी गर्न, योजना सञ्चालन गर्नेलगायतका काममा सहज हुने स्थानीयले अपेक्षा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले गाउँस्तरमा आउने बजेटको सही सदुपयोग गर्नुपर्ने बताए । उनले ठूलो प्रयासपछि दरबाङ–दिच्याम सडकले पूर्णता पाएको बताउँदै आगामी दिनमा सडकको स्तरोन्नति गरी निर्बाध रुपमा सञ्चालन र रेखदेख गर्न स्थानीयलाई सुझाव दिए । कार्यक्रममा वडाध्यक्ष सन्तोष सुवेदी, सदस्य गौमती चापागाईं, कर्ण रोका र सडक निर्माण समितिका अध्यक्ष खिम रोकाले मन्तव्य राखेका थिए ।