म्याग्दी जिल्लाको मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँका राम बहादुर पाण्डेको उपचारमा म्याग्दी लोकदोहोरी प्रतिष्ठान रोदिघरले ५५ हजार ३ सय ३१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

घरायसी प्रयोजनका लागि रुखमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाईते भएका पाण्डेको उपचारमा पुर्णगाउँ स्थायी घरभई हाल मलेसियामा रहेका प्रतिष्ठानका संस्थापक प्रेम भण्डारी, बहराईनमा कार्यरत प्रतिष्ठानका अध्यक्ष कृष्ण आचार्यको सक्रियतामा संकलन भएको सहयोग प्राप्त भएको उपचार अभियानका संयोजक बाबुराम आचार्यले बताए ।

‘सहयोगले उपचारमा राहत मिलेको छ । अझै धेरै सहयोगको अपेक्षा गरिएको छ’ उनले भने । ठुलो परिवारको एउटै साहरा पाण्डे लडेर मेरुदण्डमा गम्भीर चोट लागेपछि काठमाण्डौको ट्रमा सेन्टरमा उपचार गरी हाल पोखरामा ल्याइएको छ ।

आर्थिक अवस्था कमजोर रहेको पाण्डेको दुवै खुट्टा चल्ने अवस्थामा नभएको र थप आर्थिक आवश्यकता रहेकाले उपचारमा सहयोग गर्न अपिल समेत गरेका छन् । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ती कोषले सुरु गरेको आर्थिक संकलन अभियानमा स्वदेश तथा विदेशमा समेत सहयोग संकलन भइरहेको छ । हरिकृष्ण गौतम