मध्यपहाडी जिल्ला म्याग्दीमा बिहीबार १४औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव–२०७४ मनाइएको छ । ‘दुईबाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नारासहित जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित धान दिवस मनाइएको हो ।

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणबाङस्थित रणबाङ कृषक समूहको संयोजनमा एक किसानको खेतमा स्थानीय कृषकसहित रोपाई महोत्सव गरी दिवस मनाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले धान खेतीको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् ।

वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले म्याग्दी जिल्लामा अत्यन्त कम मात्रामा धान उत्पादन हुने बताउँदै कुल खेतीयोग्य जमिनको ३ हजार ८९५ हेक्टरमा धानखेती हुँदै आएको बताए । उनले वार्षिक १२ हजार ९८ मेट्रिक टन अर्थात् ३ दशमलब १ प्रतिशत मात्रै धान उत्पादन रहेको भन्दै जिल्लामा पुरानो धानको बाहुल्यता भएको हुँदा उन्नत जातको बाली प्रयोग गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा जिल्लास्थित क्रियाशिल राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कृषक समूह, स्थानीयलगायतको सहभागीता रहेको थियो । मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका र वडाध्यक्ष धनबहादुर खातीले मन्तव्य राखेको कार्यक्रम रणबाङ कृषक समूहका अध्यक्ष हिरादेवी सुवेदीको अध्यक्षता, कृषि सेवा केन्द्र बाबियाचौरका प्रमुख निरञ्जनकुमार तिवारीको स्वागत र श्रीराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

हालसम्म जिल्लाभर लगभग ३० प्रतिशत रोपाईं सकिएको वरिष्ठ कृषि विकास अधिकृत रिजालको भनाई छ । यसवर्ष मनसुन शुरु हुन ढिलाई हुनु, सिचाइको सुविधा नहुनु, मकैखेती लगाउनुलगायतका कारणले असार १५ बितिसक्दा पनि रोपाईंमा ढिलाई भएको बताइएको छ । प्रताप बानियाँ