विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसले क्याम्पसको परिसरमा बिहीबार बगैचा निर्माण गरेको छ । बगैचा निर्माण तथा फुल रोप्ने कार्यक्रम–२०७४ अन्तर्गत ‘एक विद्यार्थी, एक फुल’ अभियानमार्फत क्याम्पस परिसरमा बगैचा बनाएर फुल रोपिएको स्ववियुले जनाएको छ ।

कार्यक्रमको अवसरमा यसअघि स्ववियु र अनेरास्ववियुले निर्माण गरेको बगैचामा जिल्ला कृषि विकास कार्यालय, भू–संरक्षण, वन कार्यालय तथा पोखराको नर्सरीबाट ल्याइएका फुलका विरुवाहरु रोपिएको छ । पारिजात, गोदावरी, लालुपाते, रातकिराने, अशोक तथा धुपीको बिरुवालगायत विभिन्न १५० वटा प्रजातिका फुलहरु रोपिएको स्ववियु सभापति सावित्रा खत्रीले जानकारी दिएकी छिन् ।

फुल रोपेर कार्यक्रमको उद्घाटन गर्दै भूतपूर्व स्ववियु सभापति खुमबहादुर बानियाँले क्याम्पस परिसरलाई स्वच्छ र हराभरा बनाउन सबै एक भएर लाग्नुपर्ने बताएका छन् । उनले क्याम्पसलाई नमुना बनाउनका लागि रचनात्मक क्रियाकलापमा समेत जोड दिनुपर्ने भन्दै शैक्षिक गतिविधि सञ्चालन गरी विद्यार्थी आकर्षणको केन्द्र बनाउनुपर्ने बताएका थिए ।

क्याम्पस प्रमुख टिकाराम सापकोटाले म्याग्दी बहुमुखी क्याम्पस जिल्लामै शैक्षिक उन्नयनको धरोहर भएको बताउँदै अधिकांश क्षेत्रमा क्याम्पसले अभिभावकत्व निर्वाह गरिरहेको बताए । भूपू स्ववियु सभापति दुर्गा कार्की बानियाँले बगैचा निर्माण गरी फुल रोप्ने कार्यक्रम सराह्रनीय रहेको हुँदा क्याम्पसमा सबै क्षेत्रको विकासका लागि केन्द्रीत हुनुपर्ने बताएकी छिन् ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय रेखाकौशल रेग्मी, श्रीधर सुवेदी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, सचिव गोरखनाथ सुवेदी, स्ववियुका पदाधिकारी, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । स्ववियु सभापति खत्रीको अध्यक्षता, उपसभापति ईश्वर सुवेदीको स्वागत र सचिव दर्पण रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले मन्तव्य राखेका थिए ।