म्याग्दीमा २५% रोपाई सकियो

0
220

छिटफुट बर्षाका विच मध्य असारसम्म म्याग्दीमा करिव २५ प्रतिशत रोपाई सकिएको छ । मानो छरेर मुरी उब्जाउने महिनामा अपेक्षा गरेअनुसार बर्षा नभएका कारण रोपाईमा ढिलाई भएको कृषकले बताएका छन् । बेनी नगरपालिका र पाँचवटा गाउँपालिकाका खेतहरूमा रोपाई सुरू भएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत श्यामराज रिजालले बताउनुभयो ।

अघिल्लो बर्षभन्दा १० प्रतिशत कम खेती भएको छ । साउनको अन्तिम सातासम्म खेतीयोग्य जमिनमा रोपाई सकिन्छ । खेतमा लगाइएको मकै सहितका अन्नबालीका कारण खोलानदीमा मूल फुटेका ठाउँमा समेत खेत रोपाई हुन सकेको छैन् । सिचाई सुविधा भएका अधिकाँस स्थानमा रोपाई सुरु भएको छ भने नदी आसपासका क्षेत्रमा सिचाई सहित मोटरबाट समेत पानी तानेर रोपाई भइरहेको छ ।

कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९७ क्षेत्रफलमा धान खेतीबाट १२ हजार ९८ मेट्रिक टन उत्पादन हुन्छ । एक हेक्टरमा ८ मेट्रिक टन धान उत्पादन हुनुपर्नेमा म्याग्दीमा ३.१० मेट्रिक टन उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् । उन्नतजातको धान खेती गरेपनि जिल्लाका अधिकांस कृषक स्थानीय जातको धान खेती गर्ने भएकाले पनि अपेक्षा गरेअनुसारको उत्पादन बृद्धिमा समस्या रहेको छ ।जिल्लामा दुईबाली धान खेती समेत निकै कम हुने गरेको छ ।