अन्नपुर्ण गाउँपालिका–५ शिखको पाउद्धारमा अवस्थित खोप्रालेकमा रहेको सामुदायिक लजलाई आधुनिक र सुविधासम्पन्न बनाउन फ्रान्सेली इन्जिनियहरूलाई प्रयोग गरिएको छ ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको खोप्रालेकमा रहेको सामुदायिक लजको सुविधासम्पन्न बनाउन फ्रान्सबाट आएका दुईजनाको सक्रियतामा स्थानीय जनशक्तीले करिव १ करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक १२ कोठाको लज बनाइरहेको पाउद्धारका अगुवा एवम् लज ब्यवस्थापन समितिका भिमप्रसाद तिलिजाले बताए ।

‘अनुभवी इन्जिनियहरू खटिरहनुभएको छ । महँगो होटलकै जस्ता कोठा बनिरहेका छन्’ तिलिजाले बेनीअनलाइनलाई भने । ३० जना स्थानीयले समेत निर्माणमा रोजगारी पाएका छन् । लजमा आवश्यक पर्ने भौतिक निर्माणका साम्रागीहरू खच्चड र स्थानीयबासीले बोकेर ढुवानी गरिरहेका छन् ।

दुईतलाको सामुदायिक लजमा शिख गाविसको स्वाँत भन्ने खोलाबाट जलविद्युत निकालेर समेत जडान गर्ने लक्ष्य रहेको लज ब्यवस्थापन समितिले जनाएको छ । लजमा शौचालय सहितको बाथरुम, सोलार, बैठक हल, डाईनिङ सहित पुर्वाधार निर्माण भइरहेको खोप्रा, खयर क्षेत्रमा पूर्वाधार विस्तारमा सक्रिय क्याप्टेन राजु पुनले बताए ।

उनले आन्तरिक पर्यटकको समेत रोजाईमा पर्न थालेपछि खोप्रा देखी खयरबराही तालसम्म शौचालय, खानेपानी, बस्ने कोठा, किचन लगाएतका पूर्वाधार विस्तार भइरहेको बताए । पदमार्गमा रेलिङ, मर्मत, बस्ने टहरा सहितका पुर्वधार विस्तारमा यूकेमा रहेका शिखबासीको पहलमा १ करोड १५ लाख भन्दा धेरै लगानी भएको छ । समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन करिव ५ हजारको हाराहारी देशका विभिन्न जिल्लाबाट पुजा गर्न जाने गरेका छन् ।