यस्तो छ म्याग्दीको पहिलो जिल्ला सभा बैठकको निर्णय

0
260

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ महिना पछि म्याग्दीमा पहिलो पटक जिल्लासभाको वैठक वसेको छ । सभाका जेष्ठ सदस्य बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा पहिलो वैठक वसेको हो । जिल्ला सभाको पहिलो वैठक कसले ढाक्ने भन्नेमा अन्यौलता रहँदा तिन दिन अघि निर्वाचन आयोगले स्थानीय विकास अधिकारी मार्फत पहिलो वैठक आह्वन गर्न निर्देशन दिएको थियो ।

आज वसेको पहिलो वैठकले जिल्ला समन्वय समितिमा रहने सदस्य संख्याको टुङगो लगाएको छ । नयाँ संविधान अनुसार अध्यक्ष,उपाध्यक्ष सहित वढीमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्न सकिने कानुनी व्यवस्था अनुसार सोही अनुसार निर्णय भएको समन्वय समितिको कार्यालयका सूचना अधिकृत पदम भण्डारीले बताए।

यस्तै सभाले जिल्ला चालु आवमा जिल्ला समन्वय समिति मार्फत सम्पन्न हुन वाँकी रहेका योजनाहरु निर्वाचनका कारण सम्पन्न समयमै सम्पन्न हुन नसकेका कारण अर्को आर्थिक वर्षमा जिसस मार्फत सम्पन्न गर्ने गरि बजेट व्यवस्था मिलाइदिन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

जिल्ला सभामा नगरपालिकाका प्रमुख,उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जिल्ला सभाका सदस्यहरु हुनेछन्। म्याग्दीमा १२ जनाको जिल्ला सभा गठन भएको छ । जिल्ला सभाको पहिलो वैठकले संख्या निर्धारण गरेपछि अव जिल्ला समन्वय समितिको गठन प्रकृया अघि वढने जनाइएको छ । 

स्थानीय विकास अधिकारी प्रेमराज गिरिले बोलाएको बैठकमा बेनी नगरपालिकका सहित पाँच वटा गाउँपालिकाका प्रमुख, उपप्रमुखको उपस्थिती रहेको थियो । जिल्ला सभाको पहिलो  ब्यवस्थित र मर्यादित रहेको धौलागिरि गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बेनीअनलाइनलाई बताए । जिल्ला समन्वय समितिका सभापतिका लागि लविङ सुरु भएको छ । जिल्ला समन्वय समितिको सभापति, उपसभापति सहितको पदाधिकारीका लागि नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका प्रमुख र उपप्रमुखले मत हाल्ने छन् भने सभापतिमा वडाका निर्वाचित सदस्यले समेत प्रतिनिधित्व गर्ने अवसर पाउने छ ।