स्थानीय तहको निर्वाचनमा म्याग्दी जिल्लाबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित मगर जनप्रतिनिधिलाई शनिबार एक कार्यक्रमका विच सम्मान गरिएको छ ।

नेपाल मगर संघ म्याग्दीले स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट निर्वाचित ११० जना जनजाति जनप्रतिधिलाई सम्मान गरेको हो । मगर संघको सभाहलमा आयोजित सम्मान कार्यक्रममा जनताको हितमा हुने कार्यमा केन्द्रित भएर नमुना कार्यकाल बनाउन शुभकामना दिइएको थियो ।

मगर संघका सल्लाहकार नर बहादुर थापा, विशिष्ट अतिथि जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक दल बहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ म्याग्दीका अध्यक्ष मुक्ती रोकाले निर्वाचित गाउँपालिका प्रमुख, वडा अध्यक्ष, सदस्यलाई गाउँघरमै जनताको प्रतिनिधि उपस्थिति भएको महसुुस हुने गरी कार्य सम्पादन गर्न अनुरोध गरेका थिए ।

सम्मान कार्यक्रममा मंगला गाउँपालिकाका सतप्रसाद रोका, धौलागिरि गाउँपालिकाकी प्रमुख थमसरा पुन, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्याप्टेन डम बहादुर पुनले मन्तब्य राखेका थिए । पूर्व माननीय बलमान पुनको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष मन प्रसाद थजाली, स्वागत डकमायाँ पाईजा र सञ्चालन सचिव लोकेश पुनले गरेका थिए ।