म्याग्दीमा विदेशबाट फर्किएका यूवाले दुध बेचेर रहरलाग्दो आम्दानी गरिरहेका छन् । रोजगारको सिलसिलामा लामो समयसम्म खाडी मुलुकमा विताएर फर्किएका यूवाहरू कृषि र पशुपालनमा सक्रिय भएर मासिक एक लाखभन्दा धेरै कमाउने गरेका छन् । मेहनत गरे आफ्नै गाउँघरमै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरणीय कृषक बनेका बेनी नगरपालिका–४ सिंगा बास्कुनाका मन बहादुर खत्री अहिले खर्च कटाएर मासिक ८० हजारको हाराहारीमा कमाउँछन् ।

०६८ सालमा १ लाख लगानीमा दुईवटा भैसी खरिद गरी पशुपालनमा प्रवेश गरेका खत्रीले अहिले दैनिक ७० लिटरको हाराहरीमा दुध बजारमा लैजाने गरेका छन् । करिव २० लाखको लगानीमा गाईभैसीका साथै खोर ब्यवस्थापन गरेका खत्रीले मासिक ८० आम्दानी गर्ने गरेको बताए । ‘दुख पनि उस्तै छ, परिवासंगै बसेर दुख गरे अनुसारको कमाईबाट सन्तुष्ट छु’ उनले भने ।

खत्रीले पशुपालनबाटै जग्गा, गोठ, छोराछोरीलाई निजी विद्यालयम पढाइरहेका छन् । खत्रीकै गाउँ बास्कुनाबाट तिलक गुरूङले समेत दैनिक सवारीसाधनमा दुध ढुवानी गर्ने गरेका छन् । एकदशक विदेशी भूमिका विताएका गुरूङले आफ्नै सवारीसाधनमा दुध सदरमुकाम लैजाने गरेका छन् । ‘दैनिक दुईपटक दुध लैजान्छु । पशुपालनमा भविस्य देखेर लगानी बढाइरहेको छु’ उनले भने । बास्कुनाकै अगुवा कृषक समेत मानिने गुरूङले बार्षिक ३ लाखभन्दा धेरैको सुन्तला समेत विक्री गर्ने गरेका छन् ।

खत्री र गुरूङ जस्तै बेनपा–५ बास्बोटका दुर्गाप्रसाद पौडेल १२ बर्ष भारतको नोकरी, एकदशक बेनीमा रहेको निजी विद्यालयमा कर्मचारीको रुपमा काम गरेपनि उनले भारत र निजी विद्यालयमा खर्चिएको समयबाट निरास छन् । ‘मैले सुरुवात देखी नै पशुपालनमा सक्रिय हुनपर्ने रहेछ, मेहनत गरे घरको आगनमै पैसा फल्छ’ पौडेलले भने ।

दैनिक दुईपटक दुध लिएर सदरमुकाम पुग्ने गरेका पौडेलले पशुपालन बाहेक कुनैपनि विकल्प नसोचेको बताए । जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्राविधिक डिल्लीराम रेग्मीका अनुसार म्याग्दीमा दुध बेचेर लाख भन्दा धेरै कमाउने कृषक हरेक बर्ष थपिदैं गएको बताए । उनका अनुसार बेनपा–५ का कमल पौडेल, बेनपा–४ का कोविलाल पौडेल, मंगला गाउँपालिका बरंजाका भिम पुर्जा, दिल बहादुर खत्री दुध बेचेर धेरै कमाउने कृषकमा पर्छन् ।

बेनी नगरपालिका आसपासका क्षेत्रमा पशुपालन प्रति आर्कषण बढेपछि जिल्ला बाहिरबाट आयात हुने दुध करिव ८० प्रतिशत घटेको छ । बेनीबजारमा दैनिक २५ सय लिटर दुध खपत हुने गरेको छ । ज्यामरुककोट, सिंगा, अर्थुङे, भकिम्ली, बंरजा सहित आसपासका क्षेत्रबाट १८ हजार लिटर र छिमेकी जिल्लाबाट ६ सय लिटर दुध भित्रिने बताए । दैनिक २८ देखी ३ हजार लिटरको माग रहेको छ ।