प्रताप बानियाँ

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम मन्दिरमा साउने सोमबारे मेलाको तयारी शुरु भएको छ । भगवान् शिवजीलाई मनपर्ने साउन महिना र सोमबारमा सञ्चालन हुने पुजाआजाको कार्यक्रमलाई व्यवस्थित गर्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजनामा सोमबार जिल्लास्थित सरोकारवाला निकायसँग मेलाको विषयमा अन्तत्र्रिmया र छलफल गरिएको हो ।

मेलालाई व्यवस्थित रुपमा सञ्चालन र सम्पन्न गर्नका लागि विभिन्न व्यक्ति तथा संस्था संयोजक रहेको उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । शान्ति सुरक्षाको संयोजक जिल्ला प्रशासन कार्यालय, ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय, पुजा टिका तथा प्रसादमा टिकानन्द सुवेदी, नर्मेश्वर जडभरत मूर्ति पुजाको बमबहादुर पुनलाई जिम्मा दिइएको छ ।

यसैगरी बसाहा तथा हनुमान र धुपबत्ती बाल्ने व्यवस्थापनको कुमारी रोका, गणेश मन्दिर पुजा व्यवस्थापन डिलकुमारी खड्का, स्वयंसेवक परिचालन तथा जुत्ताचप्पल व्यवस्थापनमा अमृतमान शेरचन, भोजन एवं जलपान सु. नरबहादुर तिलिजा, नरिबलस्थल पतका व्यवस्था अम्मरबहादुर बस्नेत, सरसफाइमा श्रीबक्स गण र मन्दिर मूल गेट रसिदमा पूर्णबहादुर बानियाँलाई संयोजक बनाइएको क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

त्यस्तै लक्ष्मीनारायण जलकुण्डको व्यवस्थापन खुमनाथ पौडेल, प्रचारप्रसार उपसमितिको संयोजक माधवप्रसाद रेग्मी, शिवालय परिसर अनुगमन पण्डित भीमनाथ पराजुली, बेलपत्र एकानन्द बह्माचारी, स्वास्थ्य सेवा व्यवस्थापन सामुदायिक स्वास्थ्य इकाई र सरसफाई एवं बाटोघाटो निर्माण गलेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई जिम्मेवारी तोकिएको उनले बताए ।

यसैबीच गलेश्वर शिवालय क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि आयव्ययतर्फ अनुमानित कुल ३ करोड ४४ लाख ४२ हजार ८५५ रुपैयाँ प्रस्ताव गरेको छ । त्यसैगरी सोही आर्थिक वर्षमा विभिन्न योजना तथा कार्यक्रमहरु समेत बनाएको अध्यक्ष केसीको भनाई छ । उनका अनुसार गलेश्वर शिवालय र बजार क्षेत्र संरक्षणका लागि कालीगण्डकी–रहुनदी गुरुयोजना क्रमिक रुपमा अघि बढाउन प्रस्ताव गरिएको छ ।

गलेश्वरधाम कालीगण्डकी पम्पिङ योजना, गलेश्वर बजार क्षेत्र सडक कालोपत्रे तथा नाली निर्माण, २०२८ साले जिर्ण धर्मशाला विद्यालय पुनर्निर्माण, असहाय अनाथ वृद्ध तथा विद्यार्थीहरुका लागि वार्षिक भोजन, गलेश्वरधाम बास्केटबल खेलमैदान र दर्शकदिर्घ निर्माण, गलेश्वर बहुउद्देश्यीय बाटिकाको बाँकी काम सम्पन्न गर्ने, बसपार्क ढलान, प्रहरीचौकी भवन निर्माणको पहल, गलेश्वर–पुलहाश्रम आवागमन सडकमा स्वागतद्वार निर्माणलगायतका योजनाहरु आगामी वर्षभित्र सञ्चालन गर्ने प्रस्ताव पेश गरिएको छ ।

त्यस्तै गलेश्वर मन्दिरका मूल पुजारी र अन्य कर्मचारी तथा कालीगण्डकी वेदविद्याश्रमका शिक्षकहरुको समेत तलब÷भत्ता वृद्धि गर्ने समेत निर्णय गरिएको अध्यक्ष केसीले जानकारी दिए । वैठकमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, श्रीबक्स गणका गुल्मपति रमेश गुरुङ, अनुसन्धान अधिकृत अर्जुन शर्मा, मालपोत अधिकृत कृष्णबहादुर बानियाँ, जनप्रतिनिधि, क्षेत्र विकास कोषका पदाधिकारीलगायतको सहभागीता रहेको थियो ।