कृषी उपज ढुवानी गर्न म्याग्दीका कृषकहरुले सवारी साधन खरिद गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बेनी नगरपालीकामा गठित म्याग्दीकाली तरकारी बल्क सञ्चालक समितिले जिप खरिद गरेर ढुवानी सेवा सुरु गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सञ्चालक समितिलाई जिपको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

परियोजनाको १५ लाख रुपैया अनुदान र बल्क सञ्चालक समितिको ८ लाख ७० हजार रुपैया लगानीमा जिप खरिद गरिएको अध्यक्ष मुक्ति खड्काले जानकारी दिनुभयो । ढुवानीको अभावमा कृषकले उत्पादन गरेका तरकारी, फलफुल र खाद्यबाली लगायत कृषी उपजले बजार र उचित मूल्य पाउन नसक्ने समस्या न्युनीकरणका लागि सवारी साधन खरिद गरिएको खड्काले बताउनुभयो ।

जिल्लाभरका कृषकलाई आलोपालो गरेर कृषि उपज र मलविउ ढुवानीका लागि सेवा दिइने उहाँले बताउनुभयो । गाउँ गाउँमा सडक पुगेपनी ढुवानीको साधनमा पहुँच नहुँदा कृषकले उत्पादन गरेका बस्तु बजार र उचित मूल्य नपाउने समस्या थियो । सदरमुकाम वरपरका कृषकहरुले डोका र पिठ्युमा तरकारी फलफूल बिक्री गर्न बजार पुग्ने गरेका छन् ।

परियोजना अन्तरगत यस वर्षदेखि बेनी नगरपालीकाको दश हेक्टर क्षेत्रफललाई समेटेर तरकारी बल्क आयोजना सञ्चालन भएको छ । परियोजनाले सिंगाको शुभकामना कृषी सहकारी संस्थामा तालीम केन्द्र, कृषि औजार केन्द्र स्थापना गर्न आवश्यक सामाग्री खरिद र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । बेनी नगरपालीका २ खबरामा म्याग्दी नदी किनारबाट लिफ्ट प्रबिधीबाट सिचाई आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

परियोजनाले आधुनीक प्रबिधिको खेती गरेर उत्पादन वृद्धी गर्ने कृषकलाई प्रोत्साहन समेत उपलब्ध गराउने बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । म्याग्दीको बेनी नगरपालीकामा तरकारी, मंगला गाउँपालीकाको अर्मन, बरंजा र बेनी नगरपालीकाको भकिम्लीमा मकै बल्क आयोजना सञ्चालन भएको कार्यक्रम संयोजक हरिहर शर्माले बताउनुभयो । सन्तोष गौतम