करिव एक दशक अगाडीसम्म बस्ती आसपासमा मरेको सिनो खोजाखोस गर्ने पुरुन्नेबासीहरू अहिले गाउँमा सिनो निषेध गरेका छन् । गाउँ आसपासका क्षेत्रमा पशुचौपाया सस्तोमा विक्री गर्नुपरे फोन गरेर बोलाउनेहरूले अहिले खाल्टोमा गाड्छन् । म्याग्दीको बेनीनगरपालिका–५ पुरुन्नेका दलित समुदायमा यस्ता धेरै परिर्वतन आएको छ ।

केहीबर्ष अगाडीसम्म घरमा आर्कषक टिभी, गोठमा भैसी, छोराछोरीलाई उच्च शिक्षा दिलाउने र सहर बजारमा घरघडेरी सपना जस्तै लाग्ने पुरुन्नेका यूवा धमाधम विदेशीए पछि गाउँमा परिवर्तन आएको छ । विभिन्न देशमा रोजगारको खोजीमा पुगेका यूवाहरुले पठाएको रेमिट्यान्सले गाँउमा परिवर्तन ल्याएको छ ।

ज्यालामजदुरी, बालीघरे प्रथा लगाएत जोखिमपुर्ण काम गरेर गुजारा चलाउने गरेका पुरुन्नेबासीले घरसंगै समाजिक कार्यमा समेत सक्रियता देखाएको स्थानीय दलित अगुवा टिकाराम परियारले बताए । ’रोजगारीमा गएका यूवाहरूले घर बनाउँदा समाजको रुप फेरिएको छ । सफा र सुन्दर गाउँको रुपमा देखिन थालेको छ’ दलित सञ्जालका संयोजक समेत रहेका परियारले भने । उनका अनुसार आर्थिक अवस्था मजबुद भएपछि गाउँका बालबालिकाको पढाईमा समेत सुधार आएको छ ।

विगतका निर्वाचनमा मासु र आर्थिक प्रलोभनमा समेत फस्ने गरेका स्थानीयलाई स्थानीय तहको निर्वाचनमा धेरै फकाउने प्रयास गरिएपनि विगतको जस्तै सहज नभएको स्थानीय अगुवाको भनाई छ । सडक सञ्जाल नजिक रहेको बस्तीमा रोजगार र आर्थिक रुपमा सक्षम भएसंगै सरसफाईमा समेत नमुना भएको छ । जनकल्याण मावि पुलाचौरका शिक्षक समेत रहेका परियारका अनुसार विद्यालयमा उच्च अङ्क ल्याउनेमा दलित विद्यार्थीको संख्या धेरै छ ।

१०३ घरधुरी रहेको पुरुन्नेका अधिकांस घरबाट खाडीमुलुक यूएई, कतार, साउदीअरव, बहराईन, मलेसीया, भारत लगाएतका देशमा गएका छन् । गाउँमा मासिक ५ देखी १० लाख सम्म रेमिट्यान्स भित्रिने गरेको छ । पुरुष विदेश गएपछि महिलाहरू फेन्सी, सिलाइकटाई, खुद्रा पसल तथा विदेशबाट फर्किएकले फर्निचर लगाएतका ब्यवसायमा आवद्ध छन् ।

चेतनास्तरमा समेत परिवर्तन भएपछि पुरुन्नेका बासिन्दाहरूले विगतमा राजनीतिक दलले दिएका आश्वासनहरूलाई समेत कार्यान्वयनको माग गरेका छन् । पुरुन्ने जस्तै जिल्लाको विकट लुलाङ, रूम, मराङ, कुईनेमंगले, भकिम्ली, लगाएत बेनी नगरपालिकाका विभिन्न गाउँबाट विदेशमा गएका दलितहरूको सक्रियतामा गाउँमा विकाससंगै आफ्जो जिवनस्तरमा समेत ब्यापक परिवर्तन आएको छ । जिल्लाभर करिव दलित जातिको करिव ७ हजार घरधुरी रहेको छ । जिल्लामा बार्षिक ४ अर्वको हाराहारीमा रेमिस्यान्स भित्रिने गरेको छ ।