मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपुर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पुर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो ।

रुमको बेली गाउँबाट करिव ५ घण्टाको दुरीमा रहेको डुडेलेकबाट विभिन्न हिमश्रंखलाका साथै जिल्लाको ओखरबोट, दरवाङ सहित विभिन्न गाविसका भु–भागका साथै बहुमुल्य जडिबुटी, भीर मौरी, लालीगुँरास सहितका बनस्पती समेत प्रसस्तै पाईने रुमका स्थानीयको भनाई छ । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने भएकाले यसलाई हनी हन्टिक स्पोट समेत बनाउन सकिन्छ ।

छिमेकी जिल्ला बागलुङको ताराखोलाले आफ्नो क्षेत्र भएको प्रचारप्रसार गरेपनि रुमबासीले सक्रियता देखाएपनि सरकारी निकायबाट सहयोग प्रयाप्त सहयोग नभएको प्रचारप्रसारमा सक्रिय रुम बेलीबासीले गुनासो गरे । लेकमा गाउँपालिका अन्र्तरगत पर्ने निस्कोट, दरवाङ, ओखरबोट लगाएत आसपासका क्षेत्रबाट बाट समेत बेलाबेलाका शैक्षिक भ्रमण तथा बनभोज खान समेत गर्ने गरेका छन् ।

लेकलाई धार्मिक, पर्यटकीय तथा मह शिकारको गन्तब्य बनाएर समेत आन्तरिक पर्यटकलाई भित्राउन सकिने भएकाले गाउँपालिका र वडास्तरबाट समेत सक्रियता देखाउनुपर्ने रुम बेली घरभई हाल इजरायलमा रहेकी विष्णु पुन मगरले बेनीअनलाइनलाई बताईन् । ‘त्यस ठाउँ जडिबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । बुढापाकालाई त्यहाँको महत्वका बारेमा जानकारी छ’ उनले भनिन् ।

विकट लेकमा मृग, रतुवा सहितका बन्यजन्तु समेत देखिन्छ । लेकमा हरेकबर्ष जेठको २० गते विषेश पुजाआजा सहित मेला समेत लाग्ने गर्दछ । लेकमा रहेको शिवमन्दिरमा पुजा गर्न रुम, ओखरबोट सहित बागलुङबाट मनोकामना पुरा हुने जनविश्वासका साथ पुजा गर्ने गर्दछन्। यता मालिका गाउँपालिकाले आगामी बजेटमा गाउँपालिका अन्र्तरगत विभिन्न सम्भावनाको क्षेत्रमा सहयोग गर्ने गरी योजना तयार गरिरहेको छ ।