म्याग्दीका मगर विद्यार्थी आफ्नो भाषा जोगाउन जुटे

0

मगर भाषा जोगाउन म्याग्दीमा १५ दिने मगर भाषा प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । नेपाल मगर विद्यार्थी र मगर संघ म्याग्दीको संयुक्त आयोजनामा गरिएको प्रशिक्षणमा आफ्नो भाषाको संरक्षणमा सक्रियता देखाउनुपर्नेमा जोड दिइएको थियो । १५ दिने प्रशिक्षण समापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् सांसद नवराज शर्माले आफ्नो भाषा, कला र संस्कृति जर्गेनामा मगर समुदायले देखाएको सक्रियताबाट उत्साहित भएको बताए ।

सोही अवसरमा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, आदिवासी जनजाति महासंघ म्याग्दीका अध्यक्ष मुक्ती रोका, मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली, सचिव लोकेश पुन मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागिको तर्फबाट रश्मी रोका, धनिलाल गर्बुजाले प्रशिक्षणले आफ्नो भाषा जोगाउन सचेत बनाएको बताएका थिए ।

मगर भाषाको प्रयोगमा यूवापूस्ताको आर्कषण घट्दो अवस्थालाई मध्यनजर गरेर आगामी दिनमा समेत भाषा संरक्षणको अभियानमा सक्रिय रहने मगर विद्यार्थी अगुवाले प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको सभापतित्व श्याम थापा, स्वागत लब थापा र सञ्चालन विमल पुनले गरेका थिए ।

प्रशिक्षण कार्यक्रमका लागि सांसद नवराज शर्माको सांसद विकास कोषबाट १ लाख ५० हजार र मगर संघबाट ५० हजार सहयोग गरिएको थियो । प्रशिक्षणमा ८० जनाको सहभागिता रहेको थियो । मगर संघले जिल्लामा लोपउन्मुख अवस्थामा रहेको कला र संस्कृतिको जर्गेना, मगर समुदायबाट विभिन्न क्षेत्रमा सफल भएकालाई सम्मान सहित रचनात्मक कार्यक्रमहरु गदैं आइरहेको छ । म्याग्दीको कुल जनसंख्याको करिव ४३ प्रतिशत रहेको छ ।