बेनी नगरपालिकाको योजना: सडक,खानेपानी र सिंचाइका योजनाहरुको नै माग बढी

0
386

बेनी नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ मा नगरक्षेत्रको विकासकालागि नगरपालिकाका १० वटै वडाहरुमा योजना संकलन कार्य शुरु गरेको छ ।

वडा अध्यक्षको नेतृत्वमा वडा सचिव र सामाजिक परिचालिका सहित वडाका विभिन्न टोलहरुमा पुगेर स्थानीय वासिन्दा,राजनीतिक दलका प्रतिनिधि र बुद्धिजीविहरुको राय संकलन तथा त्यस क्षेत्रमा आवश्यक योजनाहरुको संकलन कार्य शुरु गरेको हो ।

नगरपालिकाका प्रत्येक वडाहरुबाट सडक,खानेपानी,सिंचाइ र कृषिका योजनाहरुको बढी माग आएको सम्वन्धित वडाका वडाअध्यक्षहरुले बताएका छन् । बेनपा १ रत्नेचौरमा सवैभन्दा बढी खानेपानी योजनाको माग रहेको र स्थानीयले एक घर एक धाराको अवधारणाका आधारमा योजना माग गरेका वडा अध्यक्ष टेकवहादुर रावलले बताउनुभयो । त्यस्तै तल्लो क्षेत्रका वासिन्दाले सिंचाइका लागि पम्पिङ सेटबाट पानीको व्यवस्था गर्न माग गरेका रावलले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं २ ज्यामरुककोटका जनताले पनि सडक विस्तार तथा स्तरोन्नति,खानेपानी,सिंचाइ,कृषि र लव्लीहिल र ज्यामरुककोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गराउन सक्ने खालका योजनाहरुको माग गरेका वडाअध्यक्ष हिरावहादुर थापाले जानकारी दिनुभयो । त्यसैगरी वडा नं ४ सिंगातातोपानीका जनताले पनि सडक,सिंचाइ,खानेपानी,बजारको फोहोर व्यवस्थापन,विद्युतका काठका पोल विस्थापन आदि योजनाहरुको माग गरेका वडा नं ४ का वडा अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।

वडा नं ५ का जनताले आमा समूहको भवन निर्माण,सडक विस्तार,सिंचाइ र खानेपानीका योजनाहरुको माग गरेको वडा अध्यक्ष लक्ष्मण वानियाँले बताउनुभयो । त्यस्तै वडा नं ६ का जनताले पनि शिक्षा,मोटरबाटो,खानेपानी र सिंचाइका योजनाहरुको माग गरेका वडा अध्यक्ष कृष्णवहादुर बानियाँले जानकारी दिनुभयो । वडा अध्यक्ष वानियाँले आमासमूहको भवन निर्माणका लागि पनि प्रशस्तै माग आएको बताउनुभयो ।

नगरपालिकाका सबै वडाका वासिन्दाले शिक्षा र पर्यटनका योजनाहरुको पनि माग गरेका छन् । अधिकांश योजनाहरु अघिल्ला वर्षहरुका जस्तै रहेका छन् । योजना संकलन कार्य कर्मकाण्डी भएको र सबैको राय सुझाव नलिई केही व्यक्तिहरुलाई भेला गरेर औपचारिकता पुरा गरिएको स्थानीय जनताको भनाइरहेको छ । नगरपालिकाले योजना संकलन कार्यका लागि ढिलो गरी पत्राचार गरेको र वर्खाको समयमा सबैलाई खेती लगाउने हतारो भएकोले सबै ठाउँमा पुग्न नसकिएको वडाअध्यक्षहरुको भनाइरहेको छ । धु्रबसागर शर्मा