कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अबरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अबरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी–जोमसोम सडकखण्ड अन्तर्गतको अन्दाजी ३० मिटर सडक कटान गरेको थियो भने झण्डै १ सय मिटर सडक प्रभावित बनाएको थियो । अबरुद्ध सडक खुलाउनका लागि जिल्लास्थित सुरक्षा निकाय र अन्नपूर्ण गाउँपालिकाले पहल गरेका थिए ।

उनीहरुको पहलमा सडक विभागको डोजर, दानामा निर्माणाधीन सव–स्टेशनका दुईवटा र घलेम्दीखोला जलविद्युत आयोजनाको एकवटा ट्रिपर परिचालन गरी सकको अस्थायी मर्मतपछि एकतर्फी रुपमा खुलाइएको छ । अवरुद्ध सडक खुलाउने क्रममा स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी, यातायात व्यवसायीलगायतले प्रयास गरेका थिए ।

डोजरको सहायतामा नदी र सडकको छेउछाउमा ठूल्ठूला ढुङ्गाहरु राखेर बाँध बानिएको अन्नपूर्ण गाउँपालिकका प्रमुख क्याप्टेन डम बहादुर पुनले बताए । सडक सञ्चालनमा आएपछि भिरकाटेमा रोकिएका सानाठूला सबै सवारीसाधनहरु पास गराइएको छ भने सिधा सडकको सम्बन्धबिच्छेद भएको हिमाली जिल्ला मुस्ताङसँग पुनः सम्बन्ध जोडिएको छ। सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको थियो ।

कालिगण्डकी नदीको कटानले सडक बगाएपछि देशका विभिन्न स्थानमा पुग्ने सवारी तथा यात्रु, उत्तरी म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका भारतीय धार्मिक पर्यटकसहितका यात्रुलगायत भिरकाटे र घारको पोखरेबगरमा अलपत्र परेका थिए ।

सडक अवरुद्ध भएपछि खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रनाउ बसुन्धरा खड्का लगायतको टोलीले घटनास्थल पुगेर सडकको अवस्थाको बारेमा निरीक्षण गरेका थिए । प्रजिअ पौडेलले पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पोखरालगायत सडक निर्माणमा खटिएको टोली, गाउँपालिका प्रमुख तथा स्थानीयसँग अबरुद्ध सडकको अस्थायी र दिर्घकालीन समाधानका विषयमा छलफल समेत गरेका थिए ।