धार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम

0
451

गोपाल छन्त्याल

मुक्तिनाथ मन्दिरको प्रवेशद्धार मानिने म्याग्दीको मुख्य धार्मिकस्थल गलेश्वरधाम धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ । स्वदेश तथा विदेशबाट बर्सेनि हजारौं धार्मिक पर्यटक आउन थालेपछि गलेश्वरधाम धार्मिक पर्यटनको ‘हब’ बन्दै गएको हो ।

बेनीबजारभन्दा तीन किलोमिटर उत्तरमा पर्ने गलेश्वरधाम पवित्र गंगा कालीगण्डकी तटमा रहेको विशाल चक्रशीलामाथि अवस्थित छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको चुस्त व्यवस्थापनका कारण तीव्र गतिमा भौतिक संरचनाको विकास, छिटोछरितो पूजापाठको व्यवस्था, भक्तजनमैत्री वातावरण र नियमित सरसफाइले गलेश्वरधाम धार्मिक पर्यटकका लागि आकर्षक केन्द्रविन्दु बन्दै गएको हो ।

मुक्तिनाथ मन्दिर दर्शन र कागबेनी स्नानका लागि सडकमार्ग हँदै आउने स्वदेशी तथा छिमेकी देश भारतका अधिकांश पर्यटक गलेश्वरधाम दर्शन गरेरै फर्कने गरेका छन् । बेनी–जोमसोम सडकखण्डअन्र्तगत पर्ने भएकाले पनि भक्तजनलाई दर्शन र पूजापाठ गर्न सहज छ । एक वर्षमा गलेश्वरधाममा एक लाख ७० हजार भक्तजनले दर्शन गरेको कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । ‘यो अघिल्लो वर्षभन्दा बढी हो, यहाँ आउने धार्मिक पर्यटक स्वदेशी, विदेशी दुवै छन्’, उहाँले भन्नुभयो, ‘मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्धारसमेत भएकाले यसको महत्व बढेको छ ।’

कोषका अनुसार सबैभन्दा धेरै पर्यटक साउनमा ५० हजार, भदौमा आठ हजार, असोजमा १३ हजार, मंसिरमा ४५ हजार, माघमा १० हजार, फागुनमा १८ हजार, चैतमा १० हजार, वैशाखमा आठ हजार र जेठमा तीन हजारले गलेश्वरधाम दर्शन गरेका छन् । पुसमा सबैभन्दा कम २५ सय मानिसले गलेश्वर दर्शन गरेको तथ्यांक छ । गलेश्वरमा देशका माथिल्लो ओहदामा पुगेका उच्चपदस्थ सरकारी अधिकारीदेखि छिमेकी देश भारतबाट पनि भक्तजन दर्शन गर्न आउने गरेको कोषले जनाएको छ ।

‘म्याग्दीका साथै पर्वत, बागलुङ, चितवन, कास्की, तनहँ, काठमाडौं, झापा, सुनसरीबाट भक्तजन दर्शनका लागि बढी आउने गरेका छन् । दसैं र चैतेदसैंमा भारतीय भक्तजन बढी हुन्छन्’, अध्यक्ष केसीले थप्नुभयो । गलेश्वरमा तीर्थालुहरूले मन्दिरमा चढाएको भेटी तथा सरकारी अनुदानबाट चालू आर्थिक वर्षमा ७९ लाख ४४ हजार ७८४ रुपैयाँ आम्दानी भएको कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै साउन महिनामा १३ लाख ५१ हजार ६३९ रुपैयाँ भेटी संकलन भएको छ ।

कोषले पछिल्लो तीन वर्षमा सुविधासम्पन्न सत्संग भवन, वृद्धा श्रम, वृद्धवृद्धाका लागि हेल्थ सेन्टर, बहुउद्देश्यीय पार्कजस्ता भौतिक संरचना निर्माण गरिसकेको छ । ‘भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा आठवटा सीसी क्यामेरा जडान गरेका छौं, बैकल्पिक रूपमा सोलार प्यानलबाट २० भन्दा बढी बत्ती जडान गरेका छौं’, अध्यक्ष केसीले भन्नुभयो, ‘सबैको सहयोग र सद्भावले नै गलेश्वरधामको विकास भएको हो ।’

मुक्तिनाथ मन्दिर दर्शन र कागबेनी स्नानका लागि आउने स्वदेशी तथा छिमेकी देश भारतका अधिकांश पर्यटक गलेश्वरधाम दर्शन गरेरै फर्कने गरेका छन् ।