म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौर र २ ज्यामरुककोटलाई आइतवार साक्षर वडा घोषणा गरिएको हो ।
रत्नेचौर र ज्यामरुककोटका १५ वर्षदेखि ६० वर्ष सम्मका सवै व्यक्ति सामान्य लेखपढ गर्न र अक्षर चिन्न सक्ने भएपछि साक्षर वडा घोषणा गरिएको वडा सचिवहरुले बताएका छन् ।

यी दुवै वडामा वसोवास गर्ने ९५ प्रतिशत भन्दा बढी वासिन्दाहरु साक्षर भएकाले साक्षर वडा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति दुर्गाराम सुवेदीले बताउनुभयो । रत्नेचौर र ज्यामरुककोट सहित म्याग्दीका २० वडा वडालाई साक्षर वडा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षर वडामध्ये रत्नेचौर १९ औं र ज्यामरुककोट २० स्थानमा पर्न सफल भएका छन् ।

बेनपा २ ज्यामरुककोटमा आयोजित कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालयका अनौपचारिक शिक्षा प्रमुख रामकरण पालले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत १५ देखि ६० वर्ष उमेर समूहका ९५.५ प्रतिशत भन्दा बढी साक्षर भएको खण्डमा साक्षर वडा घोषणा गरिने बताउनुभयो ।

कार्यक्रम वडा नं २ का वडा अध्यक्ष हिरावहादुर थापाको अध्यक्षता, अर्जुन मावि स्रोत केन्द्रका स्रोत व्यक्ति दुर्गाराम सुवेदी र नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्कीको विशिष्ट आतिथ्यता, वडा सचिव राजाराम शर्माको स्वागत र अर्जुन माविका प्रअ शिवकुमार खत्र्रीको संचालनमा सम्पन्न भएको थियो ।धु्बसागर शर्मा