म्याग्दीकाली यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः विनोद केसी निर्वाचित भएका छन् । समितिको सोमबार बेनीमा सम्पन्न तेस्रो बार्षिक साधारण तथा दोश्रो अधिवेशनले केसीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको हो । समितिको उपाध्यक्षमा देव गर्बुजा, सचिबमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा सुमन श्रेष्ठ र सहसचिबमा गजेन्द्र थापा रहेका छन् । समितिका सदस्यहरुमा क्रमशः थमबहादुर पुन, हरि भण्डारी, लालबहादुर भण्डारी र रवि गुरुङ रहेका छन् ।

यसअघि अध्यक्ष केसीको अध्यक्षता र उपाध्यक्ष गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले व्यवसायीहरुले यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै सेवालाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने बताए । अधिवेशनले बेनी–पोखरा रुटमा मात्र सञ्चालित सेवालाई फराकिलो बनाउँदै लैजाने निर्णय समेत गरेको छ ।

अधिवेशनले बेनी–काठमाडौँ, बेनी–नारायणघाट, बेनी–भुरुङतातोपानी र बेनी–दरबाङमा सेवा विस्तार गर्ने निर्णय गरेको कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । त्यसका लागि समिति तत्काल २० वटा नयाँ जिप थप गर्ने योजना पनि अघि सारेको छ । अधिवेशनमा सचिब देवेन्द्र पौडेल र कोषाध्यक्ष श्रेष्ठले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिब पौडेलले गरेका थिए ।