बेनी नगर कार्यपालिका कार्यालय म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकामार्फत चालु आर्थिक वर्ष २०७३÷७४ मा सञ्चालित कार्यक्रमहरुको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।  सार्वजनिक सुनुवाई कार्यक्रममा दर्जन भन्दाबढी सहभागीहरुले आ–आफ्नो धारणा र सुझाव तथा कार्यक्रमप्रतिका गुनासाहरु राखेका थिए ।

कार्यक्रमका सहभागी ज्ञानेन्द्र सुवेदीले ड्रिलीप पोक्जेटमार्फत सञ्चालित बेनी–पाखापानी सडकले ग्रामीण वस्ती र मानव जीबनलाई प्रत्यक्ष असर पारेको भन्दै त्यसको समाधानका लागि उचित पहल गरिनुपर्ने माग गरेका छन् ।  यसैगरी ज्येष्ठनागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले ज्येष्ठनागरिक व्यक्तिहरुलाई सम्मान दिनुपर्ने माग गरेका थिए ।

उनले वृद्धवृद्धाहरुलाई लक्षित गरी सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता चौमासिकमै उपलब्ध गराउनुपर्ने माग गर्दै भत्ता लिन जाँदा बैङ्क तथा बित्तीय संघसंस्थामा धेरै समय लाइन बस्नुपरेको र समयमा नपाएको हुँदा यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।  त्यस्तै थामडाँडाका युवा व्यवसायी भीम गुरुङले नियमित विद्युत आपूर्तिमा समस्या आएकाले आफ्नो कुखुरापालन व्यवसायको चल्ला उत्पादनमा समस्या आएको भन्दै नियमित बत्ती हुनुपर्ने बताए ।

साथै उनले बेनी–बराङ्जा सडकखण्डअन्तर्गत दुधेखोलालगायत अन्य खोलामा बेलीब्रिजको व्यवस्थापन गरी वर्षात्को समयमा पनि सहज रुपमा आवतजावत गर्नुपर्ने व्यवस्था मिलाउन जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका छन् । बजेट सक्ने काम असार महिनामा मात्रै गर्न नहुने भन्दै दीगो विकास हुनुपर्ने उनको भनाई थियो ।  बलबहादुर विश्वकर्माले बेनपा ६ नम्बर वडाको विभिन्न स्थानमा विद्युतका पोल र तारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

पत्रकार गोपाल छन्त्यालले नगर यातायात गुरुयोजना कार्यान्वयन गर्नुपर्ने भन्दै एकीकृत सम्पति कर लागू कहिले हुन्छ ? भनी प्रश्न गरेका थिए । उनले कालीगण्डकी र म्याग्दी नदी संरक्षणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने बताए । बेनपा ७ का वडा सदस्य शेरबहादुर केसीले बेनी सामुदायिक विद्यालयदेखि मङ्गलाघाटसम्म पुग्ने सडकको भित्तामा रुख खस्न लागेकाले पहिरोको जोमिख बढेको हुँदा ती रुख काट्नलाई माग गरेका थिए ।

बेनी सामुदायिक माविका प्रधानाध्यापक दीपक श्रेष्ठले आफ्नो विद्यालय अगाडि रहेका दुईवटा बाटो हुँदै आउने ढल र हुने फोहोरमैलाका कारण विद्यालयको पठनपाठनमा समस्या आएको बताए । उनले विद्यालय अगाडि २÷३ वटा विद्युतका ट्रान्सफर रहेको र पटकपटक पड्किएर विद्यालयको पठनपाठनमा समस्या र दुर्घटनाको जोखिम रहेकाले त्यसको समाधान गर्न आग्रह गरेका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यले म्याग्दी सदरमुकाम बेनी प्रवेशद्वारको कालीपुलस्थित फोहोरमैला र ढलको व्यवस्थापन गर्नुपर्ने भन्दै बेनी–गलेश्वर सडकखण्ड निर्माणमा ढिलाई भएकोमा गुनासो गरेका थिए ।  जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले चालु वर्षमा साक्षर जिल्ला घोषणा गर्न नसकिएको बताउँदै आगामी वर्षमा घोषणा गर्नेगरी लाग्नुपर्ने भनाई राखेका थिए ।

जनप्रतिनिधिहरुले वडा कार्यालय सञ्चालनका लागि आर्थिक स्रोतको आवश्यकता रहेको भन्दै जनप्रतिनिधिको क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु पनि सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।  त्यसैगरी अन्य सहभागीहरु दीपक पौडेल, थमप्रकाश आचार्य, रामप्रसाद सुवेदी, प्रताप बानियाँ, भगवती पूर्जा, तोपबहादुर कार्की, दयासागर शर्मा, यामकुमारी पाईजा लगायतले पनि विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

उनीहरुले अर्थुङ्गे–पुलाचौर नमुना सडक निर्माण ढिलाई, नगरपालिका क्षेत्रको फोहोरमैला व्यवस्थापन, पशु बधस्थल तथा हाटबजार व्यवस्थित र सञ्चालन, सचेतनामूलक कार्यक्रम निर्माण, बालबालिकाका कार्यक्रम, लक्षित वर्ग जस्ता विषयसँग सम्बन्धित प्रश्न र धारणाहरु राखेका थिए ।  सहभागीहरुले उठाएको प्रश्नको उत्तर दिँदै नगर प्रमुख हरिकुमार श्रेष्ठले बेनी–पाखापानी सडक व्यवस्थित गर्न र एकीकृत सम्पति कर लागू गर्न आगामी आवदेखि कार्यान्वयन गरिने बताए ।

उनले बेनीबजारबाट दैनिक निस्कने फोहोरमैला व्यवस्थापनका लागि नगर कार्यपालिकाले ल्याण्डफिल्ड साइटको खोजी गरिरहेको हुँदा जग्गा पाइएपछि फोहोर व्यवस्थापन गरिने बताए । उनले हाटबजार व्यवस्थित गरी सञ्चालन गरिने बताउँदै त्यसका लागि छलफल भैरहेको बताएका छन्भने पशु बधस्थलको व्यवस्थापनका लागि अर्को ठाउँ पाइएमा तुरुन्तै व्यवस्थित गरिने उनको भनाई छ ।  नगर उपप्रमुख सन्जु बरुवालले चालु वर्षमा सम्पादन हुन नसकेका योजना तथा कार्यक्रम आगामी वर्षमा सञ्चालन गरिने बताउँदै लक्षित वर्गअन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिएकी थिइन् ।

कार्यकारी अधिकृत विश्वामित्र कुइँकेलले सार्वजनिक प्रशासनलाई चुस्तदुरुस्त बनाउनका लागि कार्यालयको तर्फबाट सम्पादन गरिएका कार्यक्रमहरुको जानकारी गराउने र के कति उपलब्धि हासिल गरियो भन्ने उद्देश्यसहित सार्वजनिक सुनुवाई गरिएको बताए । उनले स्थानीय तहको निर्वाचनका कारण चालु वर्षमा सञ्चालित नगरका योजना तथा कार्यक्रमको संयुक्त अनुगमन गर्न नसकिएको बताउँदै त्यसलाई आगामी दिनमा निरन्तरता दिइने बताए । उनले बालमैत्री स्थानीय शासन लागू गरी बालबालिकासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै बजेट घोषणापश्चात् अन्य कार्यक्रमहरु गरिने बताएका छन् ।

कार्यक्रममा वडाध्यक्षसँग सम्बन्धित प्रश्नहरुको उत्तर सम्बन्धित वडाध्यक्षहरुले दिएका थिएभने विषयगत कार्यालयका प्रमुखले पनि आफूसँग सम्बन्धित प्रश्नको उत्तर दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको पत्रकार सन्तोष गौतमले सहजीकरण गरेका थिए । कार्यक्रम नगर प्रमुख श्रेष्ठको अध्यक्षता, कार्यकारी अधिकृत कुइँकेलको स्वागत र कार्यक्रम अधिकृत सविता कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । प्रताप बानियाँ