यसरी कमाउँछन भरत मल्लले कृषि–पशुपालनबाटै बार्षिक २० लाख

0

एकदशक अगाडी रोजगारीको खोजीमा खाडी मुलुक साउदी अरब पुगेका भरत मल्लले सातबर्ष बिताउँदा समेत भनेजस्तो प्रगती गर्न सकेनन् । घर परिवारबाट ठुलो अपेक्षा, खाडीको कमाईबाट दिक्क लागेर गाउँ फर्किएका मल्लले लामो समय गाडी चलाए । साउदीमा जस्तै यातायातको क्षेत्र पनि उनलाई फापेन ।

सवारी दुर्घटनमा घाईते भएका मल्लले रघुंगंगा गाउँपालिका–३ गलेश्वरपारी राहुघाटमा ब्यवसायीक कृषि फर्म स्थापना गरे । कृषि र पशुपालन पनि खाडीको यात्रा र चालकको जिन्दगी जस्तै हुने त्रास बोकेका मल्लले पहिलो बर्षमै अपेक्षा गरे अनुसारको प्रगती गरे । पाँचबर्ष अगाडी सुरु गरेको कृषि फर्मबाट अहिले उनले रहरलाग्दो आम्दानी गरिरहेका छन् । ५

लाखबाट सुरु गरेको मल्लको फर्ममा अहिले लगानी करोड पुगेको छ भने बार्षिक २० लाख आम्दानी गर्ने गरेका छन् । कुखुरा, बाख्रा,खरायो तथा भंैसीपालन र तरकारी खेतीमा छोटो समयमै राम्रो सफलता प्राप्त गरेको बेनीअनलाइनलाई बताए । ‘विदेशमा पसिना बग्यो, गाउँघरमै आएर पैसा फलाउन सफल भए’ मल्लले भने ।

२२ रोपनी जग्गाामा मल्लको बहुउद्देश्यीय कृषि फार्म विस्तार गरेका मल्लले ७२ वटा जमुनापारी जातका बाख्रा, उन्नतजातका बोका, करिव २ हजार कुखुरा, टनेल लगाएत कृषि र पशुपालनमा आवश्यक पर्ने नमुना पूर्वाधारहरु विस्तार गरेका छन् । कुखुरा पाल्नका लागिे दुइवटा आधुनिक खोर निर्माण गरेका मल्लले थप १५ सय कुखुराका चल्ला हाल्ने तयारी समेत गरेका छन् । उनले खसी,बोका र पाठापाठी विक्री गरेर वार्षिक ७ लाख कमाउँछन भने परिवार बाहेक पाँच जनालाई फार्ममा रोजगारी समेत दिएका छन् ।

घरबाटै १५ हजार देखि ३५ हजार सम्ममा बोका विक्री समेत गर्ने गरेका मल्लले आफ्नै मास पसल समेत सञ्चालन गरेर थप आम्दानी गर्ने गरेका छन् । गोलभेडा, काउली, बन्दा, सिमी, मुला, आलु, गाजर, साग, धनीयाँ लगायत मौसमी र बेमौसमी तरकारी खेतीबाट समेत मल्लको आम्दानी सन्तोषजनक रहेको छ । ‘यूरोप जाने यूवाहरुलाई त्यसको लगानी आफ्नै गाउँ गर्न अनुरोध गर्दछु । परिवारसंगै बसेर भनेजस्तै कमाई यही छ’ उनले भने । उनले आफ्नो हरेक लगानीबाट आम्दानी दिन थालेकाले थप पूर्वाधार विस्तारको तयारी समेत गरेको बताए ।

जिल्ला पशुसेवा कार्यालयबाट अनुदान र प्राविधिक सेवा पाएको उनको भनाई छ । उनले जिल्लाभर रहेका आधुनिक कृषकहरुलाई प्रोत्साहन गर्ने गरी अभियानले समेत पशुपालनमा यूवाको आर्कषण बढेको बताए । जिल्ला पशु सेवा कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले मल्लको मेहनत अनुसार आम्दानीले पशुपालन प्रतिको आर्कषण बढेको बताए ।

‘घरमै बसेर २० लाखको कमाई हुन्छ भन्नु सबैलाई खुसीको कुरा हो । अमेरिकामा पुगेका नेपालीले पनि यो सन्देशबाट उत्साहित हुनुहुन्छ’ रेग्मीले भने । पशुपालनमा मल्ल जिल्लाकै नमुना किसान मध्यमा पर्छन् । विदेशबाट फर्किएका यूवाहरुले धमाधम पशुपालन सुुरु गरेपछि म्याग्दी जिल्लामा मासिक १ लाखभन्दा धेरै कमाउने कृषकको संख्या समेत बढ्दै जान थालेको छ ।