यस्तो छ गलेश्वरमा साउने मेलाको तयारी

0

म्याग्दीको गलेश्वरमा साउने मेलाको तयारी तीब्र, मन्दिर परिसरमा सरसफाईम्याग्दीको गलेश्वरमा साउने मेलाको तयारी तीब्र, मन्दिर परिसरमा सरसफाईप्रताप बानियाँम्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउने मेलाको तयारी तीब्र पारिएको छ ।

पवित्र कालीगण्डकी नदीमाथि ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामा रहेको मन्दिरमा यसवर्ष साउने सोमबारमा लगाइने मेलाको तयारीलाई तिब्रता दिइएको हो ।  सोमबारहरुमा लगाइने मेलालाई व्यवस्थित रुपमा सञ्चालन तथा सम्पन्न गर्नका लागि विभिन्न २५ ओटा उपसमितिहरु गठन गरी तयारीलाई तीब्र बनाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । उनका अनुसार सोमबारे मेलाका लागि प्रचारप्रसार, मन्दिर परिसरमा सरसफाई, निमन्त्रणा, पुजाको व्यवस्थापन लगायतका कामहरुलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।

यस वर्षको साउनमा पनि ५ ओटा सोमबार परेको हुँदा विशेष पुजाअर्चना गरिने गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । सोमबार महत्वपूर्ण पर्वको दिन रहेको हुँदा कृष्णगण्डकीको जल, धुप, जलाधार गरी बेलपत्र, धातु, बस्त्र, द्रव्य र अलङ्कार अर्पण गर्दै रुद्राभिषेक, यज्ञयज्ञादी गरी रोट चढाउने गरिन्छ ।

यसैगरी गलेश्वरमा स्वयंप्रकट ज्योर्तिलिङ्गेश्वर, जलकुण्ड, शङ्खचक्र, गणेश, शालिग्राम, १०८ शिवलिङ्ग, नागदेवता दर्शनपुजन गर्नाले परिवारमा सु–स्वास्थ्य, दिर्घायु र इच्छाएको बर बधु प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।  साउन महिना र सोमबारको दिन भगवान् शिवको विशेष दिन भएको हुँदा त्यस दिन पुजाआजा गर्नाले मनले चाहेको पुरा हुने जनविश्वास समेत रहेको छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारको रुपमा रहेको र सत्ययुगमा सतीदेवीको गला पतन भएको भनेर चिनिने म्याग्दीको गलेश्वर मन्दिरमा खासगरी साउन महिना, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष पुजाआजा हुँदै आइरहेको छ ।  साउने सोमबारका दिन खासगरी महिलाहरु हरियो चुरासहितको पहिरनमा शिवालय मन्दिरमा गई विवाहित महिलाले पतिको दिघार्यु तथा अविवाहितले योग्य बरको अपेक्षा गर्दछन् । पछिल्लो समय गलेश्वर मन्दिरमा पुजाआजा व्यवस्थापनका लागि मन्दिरमा पुजारी तथा कर्मचारी खटाएर काम गर्ने गरिएको छ भने सर्वसाधारण लगायतको सुरक्षार्थ मन्दिर परिसरमा सिसी क्यामेरा पनि जडान गरिएको छ ।