बेनीबजारको जुवाघरबाट ८ जना पक्राउ

0

बेनी नगरपालिका–७ बेनीबजारको बैङ्करोड नजिकबाट शुक्रबार जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक महिला सहित ८ जनालाई पक्राउ गरेको छ । तीनतले घरको च्यानलगेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा जुवाघरकी सञ्चालिका मालिका गाउँपालिका घर बताउने पार्वती पुन र ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।

‘पेसेबर महिला सहित जुवाडेलाई पक्राउ गर्न सफल भयौं । अझैपनि बजारका थप जुवाघरमा निगरानी बढाएका छौ’ प्रनाउ खड्काले भनिन् । उनले तीन प्याकेट तास सहित विभिन्न रङका गोटीको प्रयोग गरेर जुवा खेलिरहेको स्थानमा पुग्न घर बाहिरको ताल्चा फोरेर भित्र प्रवेश गरेको बताईन् ।

प्रहरी निरिक्षक दिवाकर घिमिरेको कमाण्डमा खटिएको टोलीले गुरिल्ला शैलीमा प्रवेश गरेर जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरी प्रवेश गरेको जानकारी पाएपछि जुवाडे घरको पछिल्लो भागबाट भाग्ने प्रयास समेत गरेका थिए। पक्राउ पर्नेमा जिल्ला भित्रका र विभिन्न जिल्लाबाट आएका ब्यक्ति रहेको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुको परिचय सहित आवश्यक विवरण सङ्कलन भइरहेको बताउँदै थप अनुसन्धान भइर्हेको जनाएको छ । प्रहरीले सुचनाका आधारमा निगरानी बढाएको थियो ।

तास र पैसा हुने ठाउँमा गोटी मात्रै भेटिएपटि नयाँ शैलीको जुवाघर फेला परेको भन्दै थप अनुसन्धानबाट अन्य जुवाघरसम्म पुग्न सकिने प्रहरीको अनुमान छ । जु्वाखालबाट प्रहरीले एक रुपैयाँ पनि बरामत नगर्नुलाई निकै चासोपूर्वक हेरेको जनाएको छ । जुवाडेले कसरी पैसा ब्यवस्थापन तथा एकले अर्कोलाई दिन्छन भन्ने समेत पत्ता लगाइरहेको प्रहरीको भनाई छ । प्रहरीको भनाईमा यसलाई आधुनिक जुवाघरका रुपमा लिइएको छ ।

जुवा खेलिरहेकाहरुलाई सञ्चालिकाले घरभित्रै आवश्यक खानको ब्यवस्था गर्ने गरेपनि हारेकाले जितेकालाई कसरी गोटीका आधारमा पैसा दिन्छन भन्ने अनुसन्धानमा प्रहरी जु्टेको छ । जुवाघरकी सञ्चालिकाले विभिन्न नामबाट यसअगाडी समेत बेनीबजार आसपासका क्षेत्रमा जुवा खेलाउने गरेको बुझिएको छ । जुवाडेलाई अनुसन्धान गरि जुवा ऐन अन्र्तरगत कारवाही गरिने प्रहरीले जनाएको छ ।