बेनी नगरपालिकाको बजेट ३७ करोड ७८ लाख

0

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि ३७ करोड ७८ लाख बराबरको बजेट ल्याएको छ । बेनी नगर कार्यपालिकाको शुक्रबार सम्पन्न प्रथम नगरसभामार्फत नगरपालिकाका लागि आवश्यक ३७ करोड ७८ लाख ८६ हजार बजेट प्रस्तुत गरिएको हो । साउन १ गतेबाट लागू हुनेगरी बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ३७ करोडभन्दा बढी रकमको बजेट बक्तव्य नगरसभामा पेश गरेकी छिन् ।

उपप्रमुख बरुवालले प्रस्तुत गरेको बजेटमा आन्तरिक राजश्वतर्फ १ करोड ५ लाख ७४ हजार हुने अनुमान गरिएको छ भने राजश्व बाँडफाँडबाट ४४ लाख, चालु आवको बचत ३० लाख रहेको छ । यसैगरी नेपाल सरकारको सशर्त अनुदानतर्फ संस्थागत विकासमा फ्रिज नहुने गरी प्राप्त ४८ लाख, समानीकरण र सशर्त अनुदान गरी जम्मा ३८ करोड १७ लाख ६९ हजार आयस्रोत पहिचान गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष ०७४÷७५ का लागि १७ करोड ९६ लाख ८६ हजार कार्यक्रम खर्चसहित चालु खर्चमा २२ करोड ३० लाख ८६ र पुँजीगततर्फ १५ करोड ४८ लाख खर्च हुनेगरी ३७ करोड ७८ लाख ८६ हजार कुल बजेट बनाइएको बेनी नगरपालिकाले जनाएको छ । आन्तरिक स्रोततर्फ १ करोड २० लाखको खर्च प्रस्ताव गरिएको छ भने म्याचिङ फण्ड आवश्यक पर्ने आयोजना सञ्चालन, विपद् व्यवस्थापन, कर्मचारी कल्याण कोषलगायत भैपरी आउने कार्यका लागि १ करोड ५० लाख बराबरको समपुरक कोषको व्यवस्था गरिएको छ ।

नगरपालिकाको समग्र पूर्वाधार विकास, नगरवासीको आयस्तरमा वृद्धि र सुशासनलाई प्राथमिकता दिइएको उपप्रमुख बरुवालको भनाई छ । नगर प्रमुख हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेनीदेखि सबै वडासम्म पक्की सडक निर्माण, खानेपानी सुविधा, डम्पिङ साईट निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, व्यापार प्रवद्र्धन, कला, संस्कृति र धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षणमा जोड दिइएको बताएका छन् ।

उनका अनुसार एकीकृत सम्पत्ति कर लागू गर्ने नीतिगत निर्णय गरिएको छ भने व्यवसाय, घरभाडा र सवारी करको लागि लगत सङ्कलन गरिने भएको छ । ‘एक वडा एक उत्पादन’, रावण पार्क निर्माण, ‘एक घर एक बिरुवा’ जस्ता कार्यक्रम सार्वजनिक गरिएको छ । बेनी–पात्लेखेत सडक कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिएको नगरपालिकाले खेलमैदान, सिचाईं कुलो निर्माण तथा मर्मत, तरकारी र सुन्तला खेती प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकामार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५÷१५ प्रतिशत नगद एवं श्रमदान सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । बैङ्किङ पहुँच विस्तारका लागि वित्तीय साक्षरता र सहकारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ । जनप्रतिनिधिको नेतृत्व तथा क्षमता विकासका लागि तालिम, प्रशिक्षण र भ्रमणको कार्यक्रम बनाइएको छ । नदी कटानको जोखिममा रहेका बस्तीको संरक्षण र क्याम्पसचोकको बाढी नियन्त्रण योजनालाई प्राथमिकता दिइएको बताइएको छ ।

नगरसभाको उद्घाटनसत्रमा वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल र जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि विषयगत कार्यालयले स्थानीय तह अन्तरगत नै कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी गराएका थिए । नगरसभामा बेनी नगरपालिकाका १० वटै वडाका अध्यक्ष, नगर कार्यपालिकाका सदस्य र वडा सदस्यहरुबीच विनियोजित बजेट, नीति तथा कार्यक्रमको विषयमा छलफल गरी बजेट पारित गरिएको थियो । नगरपालिका प्रमुख श्रेष्ठको अध्यक्षता र कार्यकारी अधिकृत विश्वामित्र कुइँकेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपप्रमुख बरुवालले स्वागत गरेकी थिइन् ।