रघुगंगा गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गर्न १ करोड २० लाखको लागतमा डोजर खरिद गर्ने भएको छ । शनिबार पाखापनीमा सम्पन्न भएको प्रथम गाँउ सभामा निर्माणधिन अवस्थामा रहेका सडकलाई तिब्रता दिने,गाउँपालिकाका सबै वडा हुदै बस्तीसम्म सडक सञ्जालको पहुँच, राहुघाट वारीपारी सडक सहितका संरचनालाई प्राथमिकता दिएको गाउँपालिका प्रमुख भब बहादुर भण्डारीले बेनीअनलाइनलाई बताए ।

‘विकास निर्माणलाई गती दिन आफ्नै स्वामित्वमा रहने गरी हेवी इक्यूमेन्टको आवश्यकता पर्छ ।विकास निर्माणको करिव ३० प्रतिशत रकम डोजरमै खर्च हुन्छ’ उनले भने । पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला हुदै कुईनेमंगले जोड्ने सडक, दग्नाम– दर्मिजा हुदै झिँ जोड्ने सडकका साथै एक वडाबाट अर्को वडामा सडक सञ्जाल पुर्याउन डोजरको आवश्यकता रहेको गाउँकार्यपालिकाबाट प्रस्ताव गरिएपछि सभाले स्वीकृति दिएको थियो ।

गाउँपालिका प्रमुख भण्डारी समेत लामो समय निर्माणको क्षेत्रमा आफ्नो अनभुव भएकाले पनि दुरुपयोग हुन नदिने, नियमित गर्ने संयन्त्र बनाउन बताएका थिए ।

रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष ०७४÷०७५ का लागि २४ करोड ७५ लाख ५२ हजारको बजेट स्वीकृत गरेको छ । जसमा नेपाल सरकारको सर्सत अनुदान ९ करोड ६७ लाख २१ हजार, चालु तर्फ ३ करोड ७० लाख ७४ हजार, पुजिंगत तर्फ ७० लाख, आन्तरिक स्रोत १० लाख, विपत्त ब्यवस्थापन र छिटफुट योजनाहरू समावेश गर्न १ लाख २० लाख, दग्नाम, भिँ जोड्ने सडक लगाएत विकास निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

केन्द्र विवादको चेपुवामा परेको गाउँपालिका भित्र विकास निर्माणमा कुनैपनि अभाव महसुुस हुन नदिने गरी साउन महिना देखी नै काम अगाडी बढाउने गाउँपालिकका प्रवक्ता जिवन मल्लले बताए । उनले गाउँपालिकालाई खरिद गर्न लागिएको डोजरलाई ब्यवस्थित गरी विकासका लागि छुटाइएको बजेटबाट थप काम गर्न सजिलो हुने, सञ्चालनका लागि कोष खडा गरिने र प्रभावकारी रुपमा अगाडी बढाउन वडास्तरबाटै अनुगमन गरिने बताउँदै आगामी दिनमा थप गर्न समेत सकिने बताए ।