‘हिमालका देबता’ बस्ने रिखार क्षेत्रलाई नमुना धार्मिक गन्तब्य बनाईने

0

जिल्लाको एतिहाँसिक तथा धार्मिक क्षेत्र कुइनेमंगलेमा धौलागिरी हिमालको फेदैमाअवस्थित ‘हिमालका देबता’ को वासस्थान मानिने रिखार क्षेत्रको संरक्षण,प्रचारप्रसार र पर्यटन विकासमा गुरूयोजना बनाएर अगाडी बढ्ने गाउँपालिका प्रमुख भब बहादुर भण्डारीले बताए । ‘क्रृषि मुनीहरूले तपस्यास्थलको पहिचान गुम्न दिदैनौ, रिखारलाई देशकै उत्कृष्ट गन्तब्य बनाउन पर्यटनका क्षेत्रमा काम गर्नेहरुको ध्यान केन्द्रित गर्नेछौ’ प्रमुख भण्डारीले बेनीअनलाइनलाई भने।

उनले जिल्ला सदरमुकाम बेनीबजार देखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय हिसावले समेत महत्वपूर्ण भएको बताए । आवश्यक प्रचार प्रसार र भौतिक पुर्वाधारको अभावका कारण ‘बत्तिमुनिको अध्यारो’ बनेको रिखार क्षेत्रको प्रचार प्रसारका लागि स्थानीयले जिल्लाका सरोकारवाला निकायहरुलाई जानकारी गराउनेदेखि लिएर सो क्षेत्रको सरसफाई र गोरोटोबाटो निर्माणमा जुटेका थिए ।

जनैपूर्णिमाका दिन रिखार क्षेत्रमा देशभरबाट भक्तजनहरु पुग्ने गर्दछन् । शनिबार गाँउपालिकाको प्रथम सभामा रिखार क्षेत्रका साथै धार्मिक मठमन्दिरलाई १५ लाख विनियोजन गरिएपनि रिखारलाई पर्यटन मन्त्रालय, पर्यटनका क्षेत्रका काम गर्ने संघसंस्थाबाट समेत सहयोग मागेर पूर्वाधार विस्तार सहित रिखारमा पुग्नैपर्ने गन्तब्य बनाउन गाउँकार्यपालिकाले सहमति दिएको थियो । गाँउपालिका भित्र धेरै आन्तरिक पर्यटक भित्राउने एउटा महत्वपुर्ण धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा रिखार क्षेत्र मानिन्छ ।

रिखार क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकले स्थानीयको आयआर्जनका साथै बाहिरी पर्यटकलाई रिखार क्षेत्र हुदै धौलागिरि हिमाल सहित आर्कषक गन्तब्यमा पुग्ने वातावरण बनाउन सकिने भएकाले पनि रिखारमा पूर्वाधार विस्तार गर्न पर्यटनको क्षेत्रमा सक्रिय संघसंस्था संग सहकार्य आवश्यकता रहेको जनप्रतिनिधिहरुको भनाई छ । स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र क्रृषि मुनीहरूले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र साँस्कृतीक बिविधता, बन्यजन्तु तथा पंक्षीहरू समेत भेटिन्छन् । रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौपहिलेका शिल्पीहरूको संरक्षणका लागि स्थानीय तहबाट भएको प्रयासलाई माथिल्लो निकायबाट सहयोग नभएकाले विगतमा समस्या भोग्दै आइरहेको थियो ।

तलाउको जलले स्नान गरी भगवान्को पूजा–अर्चना गर्नाले भगवानको लोक पाउने र पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । देशका विभिन्न स्थानका साथै भारतबाट आउने तिर्थयात्री र पर्यटकहरु बाटो र खानेबस्ने होटलको सुविधा नहुँदा समस्यामा पर्ने गरेका छन् । रिखार क्षेत्रको प्रचारप्रसार भए भारत सहित साक राष्ट्रमा रहेका हिन्दु धर्मालम्बीहरुलाई भित्राउन सकिने जानकारहरुको भनाई छ । गाउँपालिकाले पर्यटन र आवश्यक परे खर्च गर्न मिल्ने गरी विनियोजन गरेको १ करोड बजेटलाई समेत धार्मिक सहित विभिन्न क्षेत्रमा खर्च गर्न सकिने जनाएको छ ।