म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा आर्थिक वर्ष २०७३७४ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगती विवरण शनिबार सार्वजनीक सुनुवाई कार्यक्रम मार्फत सार्वजनीक गरिएको छ ।

वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सचिव दिपकलाल पालले साविक भुरुङ तातोपानी गाविसको कुल ६९ लाख ५४ हजार २०४ रुपैया बराबरको आम्दानी खर्च विवरण सार्वजनीक गर्नुभएको थियो ।गत वर्ष सडक निर्माण, स्तरवृद्धी, ढल निकास, मन्दिर निर्माण, सामुहिक कुखुरापालन, सार्वजनीक शौचालय, विद्यालयमा पूर्वाधार निर्माण, लक्षित समुदायको क्षमत्ता तथा विकास सम्बन्धि योजना निर्माण र कार्यक्रम सञ्चालन भएका थिए ।

कार्यक्रममा सहभागि जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र स्थानीयबासीले समयमा बजेट निकासा नहुने समस्याका कारण काम गर्न अप्ठ्यारो परेको गुनासो गरेका थिए । थोरै थोरै बजेटका टुक्रे योजना भन्दा ठूलो बजेटमा प्राथमिकता प्राप्त आयोजना सञ्चालन गर्नुपर्नेमा उनिहरुको सुझाव थियो ।

उपभोक्ता समितिका प्रतिनिधिहरुले अनुगमन समिति सक्रिय हुनुपर्ने र स्थानीय स्तरमा दक्ष जनशक्ती तयार गर्नुपर्ने अनुभव ब्यक्त गरेका थिए । वडा अध्यक्ष ओमप्रकाश फगामीले स्थानीय तहको स्थापनासंगै विकासका लागि अब सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको र विकास निर्माण तथा समुदाय परिचालनमा सघाउन प्रत्येक बस्तीमा टोल सुधार समिति गठन गरिएको बताउनुभयो ।

उहाँले सडक स्तरवृद्धी, पर्यटन प्रर्वद्धन, विद्युतीकरण, खानेपानी, सिचाई र आयआर्जन वृद्धीका कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिदै बजेटको प्रभावकारी परिचालनका लागि अनुगमन, समन्वय र जनसहभागीतामा जोड दिने प्रतीवद्धता जनाउनुभयो । सार्वजनीक सुनुवाई कार्यक्रमको सहजिकरण सन्तोष गौतमले गर्नुभएको थियो ।

यसैगरी भुरुङ तातोपानीका सरोकारवालाहरुलाई पूर्ण सरसफाईयुक्त गाउँ बनाउन उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका अगुवा वास सहजकर्ता बिष्णु पौडेलले पूर्ण सरसफाईको सूचक र ब्यवहार परिवर्तनका विषयमा सहजीकरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा ६ वटा टोल सूधार समितिलाई सार्वजनीक स्थलको सरसफाई तथा फोहोर व्यवस्थापनका लागि २७ वटा डस्टबिन र १५ वटा फेलेक्स प्रिन्ट वितरण गरिएको थियो । वडा अध्यक्ष फगामीको अध्यक्षता, सचिव पालको सञ्चालन र वडा सदस्य वुद्धीबहादुर पुनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम समापन पछि भुरुङ तातोपानीका राजनितिक दल, जनप्रतिनिधि, युवा कल्व, आमा समूह र स्थानीय बासीन्दाले सरुवा भएका वडा सचिव पालको बिदाई, गाउँ कार्यपालीका सदस्य आत्मा तुलाचन र नवआगन्तुक वडा सचिव खेमराज पौडेललाई स्वागत गरेका थिए । उत्कृष्ट काम गरेको भन्दै तातोपानी मान्द्रेढुङ्गा सडक उपभोक्ता समिति, तातोपानी कल्भर्ट र ढल निर्माण समितिलाई सम्मान गरिएको थियो । सन्तोष गौतम