स्थानीय तहमा विकासका योजना: डोजर किन्नेदेखि सुरुङमार्ग र भ्यू टावर निर्माणजस्ता महत्वकांक्षी योजना

0
171

(धु्रबसागर शर्मा)
म्याग्दी जिल्लाका एक नगरपालिका सहित पाँचवटै गाउँपालिकाहरुले आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न गर्ने विभिन्न विकास योजनाहरुका लागि बजेट सार्वजनिक गरेका छन् ।भौगोलिकरुपले विकट,विकास निर्माणका पूर्वाधारहरुको अभावमा वर्षौदेखि दुःख भोग्दै आएका धौलागिरि,मालिका,मंगला,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका वासिन्दाले जनप्रतिनिधि पाएसंगै गाउँको विकासका लागि सोही अनुसारका योजनाहरु पनि माग गरेका छन् ।

समयको माग र प्रविधिको पहुँचसंगै जनताले माग गर्ने विकासका योजनाहरु पनि महत्वकांक्षी नै रहेका सो क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । जनताबाट आएका राय सल्लाहालाई सम्मान गर्दै मंगला र रघुगंगा गाउँपालिकाले सो क्षेत्रका सबै ठाउँमा सडक पु¥याउन डोजर खरिद गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बेनी नगरपालिकाले विभिन्न वडाहरुमा सडक,कृषि,सिंचाइका योजनाहरुलाई नै बढि प्राथमिकता दिएको छ भने पौलस्त्य पुलह क्षेत्रमा रामायण पार्क निर्माण गरी यसै क्षेत्रमा जन्मिएका भनिएका रावणको प्रतिमा स्थापना गर्ने नयाँ र अनौठो योजना बनाएको छ ।

आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैया बजेट बिनियोजन गरेको बेनी नगरपालिकाले पूर्वाधार विकास, आय आर्जनमा बृद्धी र सुशासनलाई पनि प्राथमिकतामा राखेर बजेट बनाएको छ । विपद व्यवस्थापन र ऐतिहाँसिक स्थलहरुको संरक्षण जस्ता विषयहरु पनि बजेटमा समेटिएका छन् ।

त्यसैगरी मङ्गला गाउँपालिकाले रु २८ करोड ९१ लाख बजेट सार्वजनिक गरेको छ । गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गर्न रु एक करोड एक लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

गाउँपालिकामा रहेका खनिज सम्पदाको अन्वेषण, मङ्गला चक्रीय पर्यापर्यटन मार्ग, लघुव्यवसायको सम्भाव्यता अध्ययनका साथै एकीकृत सामाजिक परिवर्तनका लागि प्रशिक्षण सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ । त्यसैगरी धौलागिरि गाउँपालिकाले गाउँसभाबाट आगमी आर्थिक वर्ष ०७४÷०७५ का लागि निति,योजना, तथा कार्यक्रम सहित २५ करोड ९३ लाख २७ हजार रुपियाँ बरावरको बजेट पारित गरेको छ ।

जिल्लाकै अति विकट गुर्जासम्म पुग्ने सुरूङ मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने योजना गाउँपालिकाको प्राथमिकतामा परेको छ । गाउँपालिकाको वडा नम्बर १ गुर्जाका जनतालाई विभिन्न कार्यक्रम संगै लुलाङदेखि गुर्जासम्म सुरूङ मार्गको सम्भाब्यता अध्ययन गरी डिपीआर तयार गर्न सभाले ८ लाख रुपैयाँ बजेटको ब्यवस्था गरेको उपप्रमुख रेशम छन्त्यालले जानकारी दिनुभयो । जिल्लाकै विकटबस्तीसम्म पुग्ने सुरूङ मार्गको प्रस्ताव गाउँसभाबाट पारित भएको छ ।

त्यसैगरी रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष ०७४÷०७५ का लागि २४ करोड ७५ लाख ५२ हजारको बजेट सार्वजनिक गरेको छ । विकास निर्माणलाई प्रभावकारी बनाउन डोजर खरिदका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकका प्रवक्ता जिवन मल्लले जानकारी दिनुभयो ।

दग्नाम–चिमखोला– कुईनेमंगले सडक विस्तार र गाउँपालिकालाई रिङरोडको अवधारण अनुसार अगाडी बढाउन सडक सञ्जाललाई प्राथमिकता दिइएको छ । कुईनेमंगलेका जनतालाई समेत विकासको महसुस दिलाउने गरी जनताको सहभागिताका विकास भन्ने कार्यक्रम मार्फत श्रमदानलाई समेत प्राथमिका दिइएको छ ।त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले २३ करोड २९ लाख ६२ हजार रुपैयाँको बजेट पारित गरेको छ । बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ ।

गाउँपालिका प्रमुख डमबहादुर पुनले नमुना गाउँपालिका बनाउनका लागि जलविद्युतमा ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । त्यसैगरी गाउँपालिकाले ‘ज्येष्ठ नागरिकको सम्मान, अन्नपूर्णको शान’, स्वास्थ्य क्षेत्रमा ‘म स्वस्थ, मेरो गाउँपालिका स्वस्थ’, वातावरण र सरसफाई क्षेत्रमा ‘सफा र स्वच्छ खानपान, अन्नपूर्णको पहिचान’, खेलकुदमा हरेक बर्ष अन्नपूर्ण अध्यक्ष खेलकुद प्रतियोगिता र भौतिक पूर्वाधारलाई समयमै सम्पन्न गर्न ‘हाम्रो पूर्वाधार, हामी आफै बनाउँछौँ’ जस्ता आकर्षण नारा सहितका योजनाहरु ल्याएको छ ।